काठमाडौं । एक वर्षको अवधिमा नेपाली बजारमा सुनको मूल्य तोलामा सवा लाख रुपैयाँले बढेको छ ।
२०८२ वैशाख १ मा प्रतितोला एक लाख ८४ हजार तीन सय रुपैयामा कारोबार भएको सुनको मूल्य तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाले बढेर मङ्गलबार दुई लाख ९९ हजार आठ सय रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । भूराजनीतिक तनाव, केन्द्रीय बैङ्कहरूले सुनको भण्डारण बढाउनु, अमेरिकाको केन्द्रीय बैङ्कले ब्याजदर घटाउनु, सेयर बजारमा गिरावट आउनुलगायतका कारणले सुनको मूल्य बढ्दै गएको हो । पछिल्लो समय पश्चिम एसियाली मुलुकमा देखिएको युद्धका कारणले केही समय सामान्य घटेको सुनको मूल्य फेरी बढ्न थालेको छ ।
सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले भूराजनीतिक कारणले एक वर्षमा सुनको मूल्य दोब्बरले वृद्धि भएको बताए । पश्चिम एसियाली तनावका कारण सुनको मूल्य थप बढ्ने देखिएको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएकाले बजारमा माग नहुँदा कारोबार बढ्न नसकेको उनको भनाइ छ ।
यसअघि २०८२ माघमा प्रतितोला तीन लाख ३९ हजार रुपियाँ पुगेको सुनको मूल्य घटेर दुई लाख ७५ हजार रुपैयामा झरेको थियो । चाँदीको मूल्य बढेर सात हजार पुगेको थियो । बिचमा घटेर तोलामा चार हजार रुपैयासम्म झरेको थियो ।
यस्तै चाँदीको मूल्य एक वर्षमा तोलामा तीन हजार १२० रुपैयाले बढेको छ । महासङ्घका अनुसार २०८२ वैशाख एक हजार ९४५ रहेको चाँदीको मूल्य बढेर मङ्गलबार पाँच हजार ६५ रुपैयामा कारोबार भएको छ ।