काठमाडौँ । देशको समग्र कुल गार्हस्थ उत्पादनको अनुमानभन्दा दुई प्रदेशको आर्थिक वृद्धिदर बढी रहने देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र८३ को प्रदेशगत कुल गार्हस्थ उत्पादनमा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय अनुमान (३.८५ प्रतिशत) भन्दा बढी हुने देखिएको छ ।
स्थिर मूल्यमा मापन गरिएको उपभोक्ताको मूल्यको प्रादेशिक कुल गार्हस्थ उत्पादनको सबैभन्दा उच्च वार्षिक वृद्धिदर बागमती प्रदेशको ५.४० प्रतिशत र गण्डकी प्रदेशको ५.०१ प्रतिशत रहने अनुमान छ । त्यसै गरी सबैभन्दा न्यून वार्षिक वृद्धिदर मधेश प्रदेश १.३१ प्रतिशत प्रारम्भिक अनुमान छ । स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको राष्ट्रिय कुल गार्हस्थ उत्पादन वार्षिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा बागमती र गण्डकी प्रदेशको राष्ट्रिय वार्षिक वृद्धिदरभन्दा बढी र बाँकी प्रदेशको राष्ट्रिय वार्षिक वृद्धिदरभन्दा कम हुने प्रारम्भिक अनुमान छ । जस अनुसार सुदूरपश्चिम प्रदेशको ३.२८ प्रतिशत, कोशी प्रदेशको ३.१३ प्रतिशत, कर्णाली प्रदेशको २.९४ प्रतिशत र लुम्बिनी प्रदेशको २.८७ प्रतिशत आर्थिक वृद्धिदर रहेको छ ।
आर्थिक वृद्धिका आधारमा कमजोर देखिएको मधेश प्रदेश राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यका आधारमा भने चौथो स्थानमा रहेको छ । यस आधारमा पनि बागमती प्रदेश पहिलो स्थानमा रहेको छ ।
चालु आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्य ६६ खर्ब हुने अनुमान गरिएकामा बागमती प्रदेशको २४ खर्ब २३ अर्ब ९३६.७ प्रतिशत०, कोशी प्रदेशको १० खर्ब ४३ अर्ब (१५.८ प्रतिशत), लुम्बिनी प्रदेशको नौ खर्ब ३७ अर्ब (१४.२ प्रतिशतं), मधेश प्रदेशको आठ खर्ब ६३ अर्ब (१३.१ प्रतिशत), गण्डकी प्रदेशको पाँच खर्ब ९३ अर्ब (९.० प्रतिशत), सुदूरपश्चिम प्रदेशको चार खर्ब ६४ अर्ब (७.० प्रतिशत) र कर्णाली प्रदेशको दुई खर्ब ७७ अर्ब (४.२ प्रतिशतं रहने प्रारम्भिक अनुमान छ ।
आव २०८१\८२ र आव २०८२\८३ दुवैमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको हुने अनुमान छ । आव २०८२\८३ मा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन अमेरिकी डलरमा बागमती प्रदेशको २६४४, गण्डकी प्रदेशको १६५१, कोशी प्रदेशको १४१०, लुम्बिनी प्रदेशको १२०८, सुदूरपश्चिम प्रदेशको ११७०, कर्णाली प्रदेशको ११०८ र मधेश प्रदेशको ९३४ हुने प्रारम्भिक अनुमान गरिएको छ ।
चालु आवमा राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन अमेरिकी डलरमा १५१३ हुने प्रारम्भिक अनुमान छ । यस हिसाबले बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन पनि राष्ट्रिय औसतभन्दा कम रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।