आइतवार, श्रावण २४ गते २०८३

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट,पीडित किसानलाई ४२ करोड राहत दिने

बुधवार , जेठ २७, २०८३


काठमाडौँ ।पछिल्ला केही हप्तायता बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ । हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएका छन् । यस क्रममा पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।

रोग नियन्त्रणमा खटिएको पशुसेवा विभागको टोलीले दिएको जानकारीअनुसार प्रभावित १० जिल्लाका ७२ वटा फार्मका लेयर्स र स्थानीय जातका कुखुरा नष्ट गरिएका छन् ।

सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ले कुखुरासँगै १० लाख ९०० अण्डा र दुई लाख पाँच हजार किलो कुखुराको दाना पनि नष्ट गरेको पशुसेवा विभागका वरिष्ठ पशुचिकित्सक डा नवराज श्रेष्ठले जानकारी दिएका छन् ।

सरकारले बर्डफ्लुका कारण कुखुरा तथा अन्य उत्पादन गुमाउन बाध्य किसानलाई करिब ४२ करोड रुपैयाँ राहत दिने भएको छ । वरिष्ठ पशुचिकित्सक डा श्रेष्ठका अनुसार रोग पुष्टि भई कुखुरा, अण्डा तथा दाना नष्ट गर्न बाध्य भएकाले ती किसानलाई उक्त राहत दिन लागिएको हो ।

बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार यसरी पक्षीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशत राहत दिने व्यवस्था छ । यसबाहेक प्रभावित क्षेत्रको सम्पूर्ण पक्षीजन्य उत्पादन नष्ट भएको करिब दुई महिनापछि मात्रै व्यवसाय पुनःसुरु गर्न पाइने भएकाले किसानले थप क्षति व्यहोर्नुपर्ने हुन्छ ।

पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार द्रुत कार्य टोलीले तोकिएको ढाँचामा सङ्कलन गरेको क्षति विवरणका आधारमा किसानलाई दिनुपर्ने रकम निर्धारण गरिन्छ । विवरणमा टोली र किसान दुवैको हस्ताक्षर हुन्छ । लागत मूल्य जिल्लाअनुसार फरक पर्न सक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलगायत उच्च पदाधिकारीको बैठकले अन्तिम निर्णय गर्ने गरिएको उनले बताएका छन् ।

केही महिनायता काठमाडौं उपत्यकासहित १० जिल्ला बर्डफ्लुबाट प्रभावित भएका छन् । महानिर्देशक डा दाहालका अनुसार केही साताअघि झापा, मोरङ र सुनसरीमा देखिएको बर्डफ्लु पछि महोत्तरी, बारा र चितवन हुँदै पछिल्लो समय काठमाडौं उपत्यकामा फैलिएको हो ।

वरिष्ठ पशुचिकित्सक डा श्रेष्ठका अनुसार यसको उपचार नभएकाले प्रभावित क्षेत्रमा रहेका पक्षीलाई नष्ट गर्नु र रोग देखिनासाथ छिटो नियन्त्रण गरेर फैलिन नदिनु नै रोकथामको मुख्य उपाय हो । प्रभावित क्षेत्रका पक्षी, अण्डा र दाना नष्ट गर्नुको विकल्प नरहेको उनले बताएका छन् ।

उक्त कार्यका लागि पशु चिकित्सक निरन्तर खटिएका छन् । पछिल्लो समय काठमाडौं उपत्यका बर्डफ्लुको ‘हटस्पट’का रूपमा देखापरेको छ । चितवन तथा देशका अन्य धेरै भागमा भने यो रोग नियन्त्रणमा आइसकेको उनले जानकारी दिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार