काठमाडौं। नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ।
त्यसैगरी, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको निगमले जनाएको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भारतबाट इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले स्वदेशी बजारमा पनि मूल्य समायोजन गरिएको जानकारी दिए।
नयाँ मूल्यअनुसार अब काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार ८३१ अमेरिकी डलर कायम गरिएको छ। एलपी ग्यासको मूल्य पूर्ण सिलिन्डरको २ हजार ६० रुपैयाँ र आधा सिलिन्डरको १ हजार ३० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।
इन्डियन आयल कर्पोरेशन (आईओसी) ले मंगलबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ, डिजेल २९ रुपैयाँ ४६ पैसा तथा आन्तरिक हवाई इन्धन २९ रुपैयाँ ४२ पैसाले घटेर आएको थियो। सोही आधारमा निगमले स्वदेशी बजारमा मूल्य समायोजन गरेको जनाएको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएकाले त्यसको सकारात्मक प्रभाव स्थानीय बजारमा पनि परेको निगमको भनाइ छ। यसअघि पश्चिम एसियाली मुलुकहरूमा भएको युद्धका कारण कच्चा तेलको मूल्य बढ्दा त्यसको असर विश्वव्यापी रूपमा परेको थियो। युद्धविरामको सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमशः घट्न थालेको छ।