तानसेन । पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ। पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कले जिल्लामा डिएपी मलको माग निरन्तर बढिरहेको देखाउँदा युरिया मलको खपत भने क्रमशः घट्दै गएको देखिएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड, पाल्पाका शाखा प्रबन्धक सिर्जना पाण्डेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई हजार मेट्रिक टन युरियाको माग गरिएको थियो। त्यसमध्ये एक हजार २९१.९५ मेट्रिक टन खपत भएको थियो।
सोही वर्ष ६०० मेट्रिक टन डिएपी माग गरिएकामा ६३७.७० मेट्रिक टन खपत भएको थियो। पोटास १२५ मेट्रिक टन माग गरिएकामा ९२.६५ मेट्रिक टन खपत भएको थियो।
आर्थिक वर्ष २०८१/८२ मा पनि युरियाको माग दुई हजार मेट्रिक टन नै रहे पनि खपत घटेर एक हजार १८६ मेट्रिक टनमा सीमित भएको तथ्याङ्कले देखाएको छ। डिएपीको माग ६०० मेट्रिक टन रहेकामा ६३७ मेट्रिक टन खपत भएको थियो भने पोटास १५० मेट्रिक टन माग गरिएकामा ९२ मेट्रिक टन मात्र खपत भएको थियो।
चालु आर्थिक वर्ष २०८२/८३ मा भने डिएपीको माग उल्लेखनीय रूपमा बढेर एक हजार मेट्रिक टन पुगेको छ। मागअनुसार आपूर्ति हुन नसक्दा हालसम्म ५७१ मेट्रिक टन मात्रै प्राप्त भएको छ भने ४३६ मेट्रिक टन खपत भइसकेको छ।
यसैगरी चालु आर्थिक वर्षमा युरियाको माग एक हजार ५०० मेट्रिक टन गरिएको थियो। त्यसमध्ये एक हजार २८८ मेट्रिक टन प्राप्त भएको र एक हजार २६० मेट्रिक टन खपत भइसकेको शाखाले जनाएको छ। पोटास १५० मेट्रिक टन माग गरिएकामा ११० मेट्रिक टन प्राप्त भएको र ८३ मेट्रिक टन खपत भएको छ।
धान रोपाइँको सुरुआती चरणमा प्रयोग हुने भएकाले पछिल्ला वर्षहरूमा डिएपी मलप्रति किसानको आकर्षण बढ्दै गएको शाखा प्रबन्धक पाण्डेले बताए।
उनका अनुसार युरियाको प्रयोग बालीको वृद्धि चरणमा हुने भएकाले यसको माग र खपत फरक समयमा हुने गरेको छ। सन्तुलित मल प्रयोगबारे किसानमा चेतना बढ्दै जाँदा युरियाको अत्यधिक प्रयोग पनि घट्दै गएको उनले बताए।
पाल्पाको माँडी फाँट क्षेत्रमा हरियो मलको प्रयोग बढी हुने भएकाले अन्य स्थानको तुलनामा धानबालीमा युरियाको प्रयोग कम हुने गरेको छ। परापूर्वकालदेखि नै ढैंचा छर्ने चलन रहेको र यसले माटोलाई हलुका बनाउनुका साथै उत्पादन पनि बढाउने भएकाले आफ्नो क्षेत्रमा धानबालीमा युरिया मल प्रयोग नगर्ने गरेको रुप्सेका किसान छवि थापाले बताए।
जिल्लाका १० स्थानीय तहमा सूचीकृत सहकारी संस्थाले सम्बन्धित स्थानीय तहको सिफारिसमा कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयबाट मल ल्याई किसानलाई बिक्री–वितरण गर्दै आएका छन्।