आइतवार, श्रावण २४ गते २०८३

खाद्य अनुगमनमा व्यापक अनियमितता फेला : कृत्रिम रंग प्रयोग, म्याद गुज्रिएका खाद्यवस्तु नष्ट, जरिवाना समेत

शुक्रवार , आषाढ १९, २०८३

जनकपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरले गृह, सञ्चार तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषा तथा मधेश प्रदेश सरकारका मन्त्री फकिरा महतोको संयुक्त अनुगमन टोलीसँग मिलेर असार १६ गते धनुषा जिल्लाको पूर्व–पश्चिम राजमार्ग आसपास सञ्चालनमा रहेका होटल तथा खाद्य व्यवसायहरूको अनुगमन गरेको छ।
 अनुगमनका क्रममा विभिन्न होटल तथा पसलहरूमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरीहरू भेटिएपछि जरिवाना, खाद्यवस्तु नष्ट तथा सुधारका लागि निर्देशन दिइएको कार्यालयले जनाएको छ।

अनुगमनका क्रममा मिथिला नगरपालिका–९ स्थित बौबा स्टाफ लाइन होटलमा पकाएर खाने माछा तथा मासुमा कृत्रिम खाद्य रंग प्रयोग गरिएको, फ्राइङ तेलको गुणस्तर मापदण्डभन्दा प्रतिकूल रहेको, सरसफाइ कमजोर रहेको तथा भान्सा व्यवस्थापन अव्यवस्थित पाइएको थियो।

उक्त होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। साथै करिब ३० केजी माछा र ५० केजी मासु नष्ट गरी १५ दिनभित्र सुधारको प्रमाण पेश गर्न निर्देशन दिइएको छ।

त्यसैगरी श्रेष्ठ जनरल सप्लायर्सबाट लेबल विवरण अपूरो रहेको भारतीय उत्पादन ‘शंकर भोग’ ब्रान्डको ४० प्याकेट आटा बरामद गरी नष्ट गरिएको छ।

थापा होटल एण्ड गेष्ट हाउसमा म्याद सकिएका खाद्य सामग्री, लेबलविहीन सस तथा अन्य खाद्यवस्तु फेला परेपछि ती नष्ट गरी सुधार गर्न निर्देशन दिइएको छ।

अनुगमनका क्रममा गौतम होटल वर्दिवास प्रालिमा म्याद सकिएको मैदा तथा मसला, पकाउने प्रयोजनका लागि कृत्रिम खाद्य रंगको प्रयोग र खाद्य तथा अखाद्य वस्तु एउटै स्थानमा भण्डारण गरिएको भेटिएको थियो। त्यस्तै कोमल होटल प्रालिमा लेबलविहीन चाउचाउ, उत्पादन मिति नभएको बेसन तथा कृत्रिम खाद्य रंग प्रयोग गरिएको पाइएपछि सम्बन्धित खाद्यवस्तु नष्ट गरिएको छ।

यसैबीच, विभागमा प्राप्त उजुरीका आधारमा असार १८ गते काठमाडौं महानगरपालिकासँगको संयुक्त टोलीले काठमाडौं–६, बौद्धस्थित बिरयानी किङ प्रालिमा आकस्मिक अनुगमन गरेको थियो।

अनुगमनका क्रममा बिरयानीमा जथाभावी कृत्रिम खाद्य रंग प्रयोग गरिएको, म्याद गुज्रिएका चाउचाउ र चाट मसला फेला परेको पुष्टि भएको छ। 
त्यसक्रममा म्याद नाघेका खाद्यवस्तु तथा करिब ५ केजी कृत्रिम रंग मिसाइएको बिरयानी नष्ट गरिएको छ। साथै आवश्यक कागजातसहित काठमाडौं महानगरपालिकामा उपस्थित हुन व्यवसायीलाई निर्देशन दिइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सबै खाद्य व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को पूर्ण पालना गर्न, कृत्रिम खाद्य रंगको प्रयोग नगर्न, म्याद गुज्रिएका तथा लेबलविहीन खाद्यवस्तुको बिक्री–वितरण रोक्न तथा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ।

कार्यालयका अनुसार उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गतिविधिविरुद्ध यस्ता अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार