काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा अनुमानअनुसार यो वृद्धि अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा मापन गरिएको हो।
कार्यालयका अनुसार विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा, व्यापार सेवा लगायतका आर्थिक गतिविधिमा भएको विस्तारले समग्र आर्थिक वृद्धिलाई टेवा दिएको छ। यद्यपि निर्माण सामग्रीको आयातमा कमी, धान उत्पादनमा आएको गिरावट तथा केही वस्तुको घरेलु उत्पादन घटेकाले आर्थिक वृद्धिदर अपेक्षाकृत सामान्य रहेको उल्लेख गरिएको छ।
मौसमी प्रभाव समायोजन गरिएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन ०.५८ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ।
अर्थतन्त्रका १८ औद्योगिक वर्गीकरणमध्ये १६ वटामा सकारात्मक वृद्धिदर देखिएको छ। सबैभन्दा बढी वृद्धि विद्युत तथा ग्यास क्षेत्रमा २४.८८ प्रतिशत रहेको छ। त्यसपछि वित्तीय तथा बिमा क्षेत्रमा १०.२७ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्रमा ७.८३ प्रतिशत तथा थोक तथा खुद्रा व्यापार क्षेत्रमा ५.२५ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ।
अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। धान उत्पादन घटे पनि पशुपन्छी, तरकारी, फलफूल तथा वन पैदावारको उत्पादनमा भएको वृद्धिले कृषि क्षेत्रलाई सकारात्मक बनाएको कार्यालयले जनाएको छ।
त्यस्तै, अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्र ५.२५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। व्यापारिक वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिले यस क्षेत्रमा सकारात्मक प्रभाव परेको जनाइएको छ।
यता सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा १.५९ प्रतिशत तथा औद्योगिक उत्पादन क्षेत्रमा ०.५४ प्रतिशतले ऋणात्मक वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। अन्य औद्योगिक गतिविधिहरूमा भने सामान्य सकारात्मक वृद्धि देखिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०६७/६८ लाई आधार वर्ष मानी त्रैमासिक राष्ट्रिय लेखा तयार गर्दै आएको छ। कार्यालयले प्रत्येक त्रैमास समाप्त भएको ९० दिनभित्र प्रारम्भिक अनुमान सार्वजनिक गर्ने अभ्यासलाई निरन्तरता दिएको जनाएको छ।