आइतवार, श्रावण २४ गते २०८३

सरकार सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्यतर्फ अघि बढिरहेको छ :  उपाध्यक्ष गुणाकर भट्ट

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टले सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने दिशामा काम गरिरहेको बताएका छन्।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको बताए। उनका अनुसार वर्तमान सरकारले सरकारी, निजी तथा सहकारी क्षेत्रलाई सँगसँगै अघि बढाएर आर्थिक सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकता दिएको छ।

भट्टले गरिबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्रको विकासमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले अग्रणी भूमिका खेलेको उल्लेख गरे। उनले संस्थाले वास्तविक किसानको बीचमा पुगेर सकारात्मक परिवर्तन ल्याएको भन्दै अब यसलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको धारणा राखे। यसो गर्न सके ग्रामीण अर्थतन्त्रमा अझ ठूलो प्रभाव पार्न सकिने उनको भनाइ थियो।

उनले साना किसानको उत्थानबिना गरिबी निवारण तथा आर्थिक–सामाजिक रूपान्तरण सम्भव नहुने स्पष्ट गर्दै सरकारले यस क्षेत्रका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने बताए। साथै, ठूला पूर्वाधार परियोजनासँगै साना उद्यमीलाई पनि अवसर प्रदान गर्ने नीति सरकारले लिएको जानकारी दिए।

कार्यक्रममा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले सरकारले अघि सारेका आर्थिक तथा सामाजिक रूपान्तरणका अभियानमा साना किसान अभियान निरन्तर सहयात्री बनेको बताए। उनले आगामी दिनमा पनि किसान र सदस्य संस्थाहरू सरकारका विकास कार्यक्रम कार्यान्वयनमा प्रतिबद्ध रहने उल्लेख गरे।

पाठकले किसानको उत्पादनलाई बजारसँग जोड्न सरकारले प्रभावकारी नीति ल्याउनुपर्ने आवश्यकता औँल्याए। उत्पादन मात्र गरेर किसान समृद्ध हुन नसक्ने भएकाले बजार व्यवस्थापनमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको माग थियो। किसानका उत्पादन बिक्रीका लागि बजार व्यवस्थापनको विषयमा निर्णय हुन ढिलाइ हुँदा किसानले अपेक्षित लाभ लिन नसकेको उनले गुनासो गरे।

संस्थाका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले दिगो विकास लक्ष्य हासिल गर्न महिला, युवा, दलित, जनजाति, राउटे, बनकरिया तथा पछाडि परेका समुदायलाई कृषि उत्पादनमार्फत मूलधारमा जोड्ने काम संस्थाले गरिरहेको जानकारी दिए।

उनले विश्व अर्थतन्त्रमा देखिएका चुनौतीको असर नेपालको बैंक तथा वित्तीय क्षेत्रमा समेत परेको उल्लेख गर्दै त्यसबाट बाहिर निस्कन साना तथा लघु उद्यमको प्रवर्द्धन अपरिहार्य रहेको बताए। ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक तथा सामाजिक रूपान्तरणमा संस्थाको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

यस अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न शाखा तथा साझेदार संस्थालाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। उत्कृष्ट शाखा कार्यालयका रूपमा नेपालगञ्ज शाखा, राष्ट्रियस्तरको उत्कृष्ट संस्थाका रूपमा साना किसान कृषि सहकारी संस्था खैरहनी–चितवन, साझेदार लघुवित्ततर्फ डिप्रोक्स लघुवित्त, कृषि बाहेकका साझेदार संस्थातर्फ सिम्रिक बचत तथा ऋण सहकारी संस्था तथा काठमाडौं शाखाअन्तर्गत अनैकोट, काभ्रेपलाञ्चोकलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार