काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा पहिरो गएको छ। नेप्सेमा आइतबार ६१ अङ्क बढीले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ६१.२७ अङ्कले घटेर २७ सय ५८.४८ विन्दुमा झरेको हो।
गत हप्ताको बिहीबार नेप्से परिसूचक २ अङ्कले बढेर २८ सय १९ विन्दुमा अड्किएको थियो। कुल २३३ कम्पनीको एक करोड ४४ लाख कित्ता माथिको सेयर ७३ हजार ६९३ पटक किनबेच भएको बजारमा आज ६ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ।
आइतबार ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १०.७० अङ्कले घटेर ५१९.३६ विन्दुमा झरेको छ। आज सबैजसो समूहहरू ऋणात्मक हुँदा एउटै मात्र म्युचुअल फण्ड ग्रीन जोनमा परेको छ। आज म्युचुअल फण्ड समूहको उप–सूचक ०.२१ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा बढी फाइनान्स समूहले ५.८९ प्रतिशतले गुमाएको छ।