काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता हुँदैछ । सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्ने भएका छन् ।
निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उमेदवारी दर्ता गर्दैछ । निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार बिहान १० बजेपछि उम्मेदवारका लागि मनोनयन दर्ता फारम वितरण हुँदैछ ।
महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ । उम्मेदवारी दिनेले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई निर्धारित गरिएको रकम बुझाएर
त्यस्तै दिउँसो साढे १२ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुने भएको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्याएको छ ।
नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति संख्या चार पुगेको छ । महामन्त्रीको संख्या तीन पुर्याइएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।
दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ । आवश्यक्ताका आधारमा सहप्रवक्ताको संख्या अझै थप हुने पार्टीले बताएको छ ।
यसअघि १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो । पदाधिकारी संख्या १४ थियो ।
यसपटक प्रतिनिधि संख्या र समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संख्या पनि बढाइएको कांग्रेसले जनाएको छ ।