काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिर्नेहरुको लाईन काटिने भएको छ।
प्राधिकरणले बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि आजसम्मको समय दिएको भएपनि सेवा प्रदायकहरू सम्पर्कमै नआएका छैनन्। उनीहरु सम्पर्कमा नआएपछि प्राधिकरणले आजबाट कारबाही गर्न लागेको प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।
प्राधिकरणले सांकेतिक रूपमा मात्रै सबै सेवा प्रदायकको लाइन काट्ने उनले जानकारी दिए। मर्मत सम्भारमा जाने र नयाँ लाइन तान्नेहरूलाई पक्राउ गरी औजार, उपकरणहरू खोस्नेसम्मको कारबाही गरिने पनि प्राधिकरणले जनाएको छ।
सेवा प्रदायकहरूले एकातिर भाडा बक्यौता तिरेका छैनन् भने अर्कोतिर गत चैतदेखि पोल प्रयोगको सम्झौता नवीकरण पनि गरेका छैनन्। बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न प्राधिकरणले पटक–पटक सूचना जारी गर्दै आएको छ।
पछिल्लो पटक गत भदौ २९ मा सूचना जारी गर्दै प्राधिकरणले असोज १५ सम्मको समय दिएको थियो। अब फेरि समय थप्ने मनस्थितिमा प्राधिकरण नरहेकाले कारबाही नै अन्तिम विकल्प रहेको सिलवालले बताए।
प्राधिकरणले यसअघि चितवनको भरतपुरमा कारबाही थालिसकेको छ। त्यहाँ इन्टरनेट तथा केबल टेलिभिजन कम्पनीले तानेका तार काट्ने र उनीहरूका औजार, उपकरणहरू जफत गरिएको छ। तीन वटा सेवा प्रदायक कम्पनी सिजी नेटवर्क, एनसेल र डिसहोमले भने अहिलेकै दरमा सम्झौता गरेर आफ्नो सेवा दिइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले कारबाही थाल्ने बताइरहँदा सेवा प्रदायक कम्पनीहरूले भने संघर्ष समिति गठन गरेर विरोध कार्यक्रम सार्वजनिक गरेका छन्।