काठमाडौं। एक पुरुषले आफ्नी श्रीमतीको हत्या गर्न गोमन सर्पको प्रयोग गरेका छन्। गोमन सर्पले टोकाएर श्रीमतीलाई मारेको अभियोगमा एक भारतीय पुरुषलाई विरलै दिइने दोहोरो आजीवन कारावास सजाय सुनाइएको छ।
सोमवार अदालतले उत्तरा सुतिरहेको बेला ओछ्यानमा एउटा गोमन सर्प छोडेको अभियोगमा सूरजलाई दोषी ठहर गरेको हो। गत वर्षको मे महिनामा २५ वर्षीया उत्तरा घरमै मृत फेला परेकी थिइन्।
त्यसको केही साताअघि रसेल्स भाइपार सर्पले उत्तरालाई डसेको घटनालाई लिएर उनको परिवार सशङ्कित बनेको थियो। पहिलो सर्पदंशबाट बिसेक भइरहेकी उत्तरालाई उनका श्रीमान्ले दोस्रो पटक गोमन सर्पले डसाएका थिए।
प्रहरीका अनुसार सर्पदंशका दुइटै घटनामा सूरजको संलग्नता रहेको अनुसन्धानले देखायो। प्रहरीले सर्प उपलब्ध गराउने काममा सहयोग गरेको आरोपमा अर्का व्यक्तिलाई पनि पक्राउ गर्यो।
तर पछि ती व्यक्ति प्रहरी अभियोजनकर्ताको तर्फबाट साक्षी बन्यो, जसका कारण प्रहरीलाई अनुसन्धानमा सघाउ पुग्यो। दुर्लभ घटना भएको कुरामा सहमत न्यायाधीशले सूरजलाई दोहोरो आजीवन कारावासको सजाय सुनाएका हुन्। अदालतले सूरजलाई पाँच लाख भारतीय रुपैयाँ जरिवाना पनि सुनाएको छ।
केरलामा गत वर्ष सर्पदंशबाट श्रीमती उत्तराको ज्यान गएपछि श्रीमान् सूरज कुमारलाई पक्राउ गरिएको थियो। दाइजोका लागि सूरजले दुर्व्यवहार गर्दै आएको भन्दै उत्तराको परिवारले हत्या गरिएको आरोप लगाएपछि प्रहरीले अनुसन्धान थालेको थियो।