काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको बाँडफाँड भोली हुने भएको छ। आईपिओको असार २५ गते शुक्रवार प्रि–अलोटमेण्ट सम्पन्न भएको थियो । विक्री प्रबन्धक एनएमबि क्यापिटलले शुक्रवार प्रि–अलोटमेण्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको हो ।
कम्पनीले असार १७ गतेदेखि असार २१ गतेसम्म ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । सर्वसाधारणका लागि छुट्याईएको कुल रू। ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २० लाख १९ हजार १९ जना आवेदकहरुबाट २ करोड ६१ लाख ५५ हजार १० कित्ताका लागि आवेदन परेको छ । जुन मागभन्दा ७१ दशमलव ९५ गुणा बढी हुन आउँछ । कम्पनीले कर्मचारी र सामूहिक लगानीकोषलाई बाँडफाँट गरी बाँकी रहेको शेयर गोलाप्रथाको माध्यमबाट ३६ हजार ३४९ जनाले १० कित्ताका दरले हात पार्नेछन् भने बाँकी २ कित्ता थप एक एक कित्ताका दरले दुई जनाले हात पार्नेछन् ।