काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले श्रमिकहरूको ज्यालादर पाँच प्रतिशत वृद्धि गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा असार २९ गते बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले मजदुरहरूको ज्याला निर्धारण गरेको हो ।
श्रमिकको न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने अवधि ८ घण्टा लाई आधार मानी ०७७÷७८ मा कायम गरिएको ज्याला दरमा नेपाल राष्ट्र बैंकको ज्यालादर सूचकांकको मान तथा प्रचलित बजार दरलाई आधार मानी पाँच प्रतिशतले वृद्धि गरिएको छ ।
जस अनुसार निर्माण क्षेत्रमा काम गर्ने मजदुर ज्यामीहरूले दैनिक ७५० पाउँदै आएकोमा अब साउनदेखि दैनिक ७९० भएको छ । यो ज्याला दर आव २०७८÷७९ बाट लागू हुने प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
