काठमाडौं । गत आर्थिक वर्ष २०७७-७८मा नेपाल विद्युत प्राधिकरणको नाफा दोब्बरले घटेको छ । गत वर्ष ११ अर्ब ६ करोड नाफा कमाएको प्राधिकरणले गत आर्थिक वर्ष २०७७-७८ मा नाफा ५ अर्बमा झर्ने अनुमान गरिएको छ ।
प्राधिकरणले गत आर्थिक वर्षसम्म ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको थियो । सरकारले आव २०६७-०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्व रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो । आव २०७२-७३मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आवहरुमा निरन्तर घटाउँदै प्राधिरकण सञ्चित मुनाफामा आइसकेको छ ।
आव २०७२-७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङ आएपछिका आवहरुमा निरन्तर बढ्दो नाफामा थियो । प्राधिकरणले आव २०७३-०७४ मा एक अर्व ४७ करोड, आव २०७४-०७५मा २ अर्व ८५ करोड, आव २०७५-०७६ मा ९ अर्व ८१ करोड मुनाफा कमाएको थियो । प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको थियो ।
तर, गत वर्षबाट प्राधिकरणको नाफा ओरालोतर्फ देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चुहावट बढ्दा नाफामा असर परेको बताए । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई प्राधिकरणमा स्वागत गर्दै शाक्यले सुख्खा मौसममा प्राधिकरणका आयोजनाहरुबाट उत्पादन घटेको कारण पनि नाफा खुम्चिएको बताए ।
आन्तरिक उत्पादन घटेका कारण भारतबाट हुने विद्युत आयात बढेको र महामारीका कारण मिटर रिडिङ पनि प्रभावित भएकाले नाफा खुम्चिएको शाक्यको स्पष्टीकरण थियो ।