धर्मराज भट्ट, काठमाडौं। लगातारको वर्षाका कारण डडेल्धुराका ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। विगत एक हप्तादेखि परिरहेको ठूलो पानीका कारण परशुराम नगरपालिकाका विभिन्न ग्रामीण सडक अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ। केही दिनअघि मात्रै गाउँसम्म एम्बुलेन्स पुग्न नसक्दा वडा नं ८ कि मिना लुहारले बाटोमै बच्चा जन्माउनुपरेको थियो।
यस्तै केही दिन अघि मात्रै वडा नं १० मा पनि बिरामीलाई काँधमै बोकेर अस्पताल लगेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको थियो। नगरपालिकासँग एम्बुलेन्स भएपनि सडकहरू अवरुद्ध हुँदा सास्ती खेप्नुपरेको हो।
नगरपालिकाले भने निरन्तरको वर्षा भइरहेकाले सडक खुलाउन समस्या भएको बताएको छ। नगरपालिकाका प्रमुख भरत बडायर जोशीले बर्षा रोकिएलगत्तै सडक खुलाउन सुरु गरिने बताए। उनले भने,‘खहरे खोलाहरू धेरै छन्। निरन्तर वर्षा भइरहेकोले फेरी सडक अवरुद्ध भइहाल्ने अवस्था भएकाले कुरेका हौँ। वर्षा रोकिनेवित्तिकै सडकहरू खुल्छन्।’
स्थानीयले सुरु गरे श्रमदान
स्थानीयहरुले भने सरकारले सडक खुलाउनतर्फ ध्यान नदिएको भन्दै श्रमदान कार्यक्रम सुरु गरेका छन्। नगरपालिकाको वडा नं ८ र ९ जोड्ने खानिडाडा-डेवरी-जमरानी-सादनी सडकखण्डमा श्रमदान सुरु गरिएको स्थानीय मनोज कार्कीले बताए।
उनले भने,‘नगर सरकारलाई भनेपनि नमानेपछि हामी स्थानीयहरु जुटेर श्रमदान सुरु गरेका छौँ। पहिलो दिन डेबरी खोलामा गाडी पास हुनेसम्म बनाएका छौँ।’
श्रमदानमा स्थानीयहरु ट्याक्टर तथा सडक निर्माण सामग्रीसहित उपस्थित भएका थिए। शनिबार पुनेमारे भन्ने स्थानको सडक पनि मर्मत गरिएको छ।
गतवर्ष आएको बाढीका कारण डेवरी खोलमा ठूलो कटान गरेको थियो। सो स्थानमा आगामी आर्थिक वर्ष मोटरवेल पुलका लागि बजेट विनियोजन भएर केही दिनमा ठेक्का प्रकृयामा जाने वडा नं ८ का अध्यक्ष दिनेश प्रसाद जोशीले बताएका छन्।
यस्तै शनिबार नगरपालिकाका मयेर जोशी आफै श्रमदानस्थलमा पुगेर छिट्टै नै सडक मर्मत गर्ने आश्वासन दिएका छन्। उनले भने,‘अहिले निरन्तर पानी परिरहेकाले सडक मर्मतका लागि समस्या भएको हो। छिट्टै नै सडक मर्मत गर्छौँ।’
युवाहरूले श्रम संस्कृतिको विकास गरेकोमा खुशी व्यक्त गर्दै उनले आफूले पनि जनताहरूसँगै श्रमदान गर्ने बताएका छन्। ‘युवाहरुले श्रम संस्कृतिको सुरु गरेका छन्। यो एकदमै स्वागतयोग्य र सकारत्मक कार्य हो। धरानमा हर्क साम्पाङले श्रमदान गरेरै पानी ल्याउन सक्छन् भने हामीले सडक खुलाउन किन सक्दैनौँ? म टस्वयं पनि श्रमदानमा निस्कन्छु।’
भाैगाेलिक अवस्थाले समस्या
चुरेक्षेत्र भएकाले समेत यस क्षेत्रमा हरेक बर्ष बाढीको कहर खेप्नुपर्छ। सबैजसो ग्रामीण सडकहरू अवरुद्ध हुने गरेका छन्।
यसपटक वडा नं ६ र १२ जोड्ने पन्तुरा खोलामा मोटरेबल पुलको माग गर्दै वडा नं ६ का अध्यक्ष खगेन्द्र बहादुर सिंहले त्यस क्षेत्रबाट निर्वाचित सांसदहरुलाई वडा प्रवेशमा प्रतिबन्ध नै लगाएका छन्।
हालसम्म यस क्षेत्रमा कयौं व्यक्तिले ज्यान समेत गुमाइसकेका छन्। २०७४ को स्थानीय निर्वाचनमा वडा न.६ बाट निर्वाचित वडा सदस्य नर बहादुर धामी निर्वाचित भएको २ महिनामै बाढीले बगाउँदा ज्यान गुमाउनुपरेको थियो। ४ सय भन्दा बढि परिवारका विद्यार्थीहरू यही खोला तरेर विद्यालयका लागि ओहोरदोहोर गर्नुपर्दछ। गतवर्ष मात्रै नगरपालिकाको डोजर लगाएर खोला तारेको भिडियो सार्वजनिक भएको थियो।
यस्तै गाईबाँधे-कुर्मुल्ले सडकको अवस्था पनि उही छ। त्यहा पनि बर्षायाममा सडक अवरुद्ध हुने गरेको छ। यद्यपि आगामी आर्थिक बर्षमा नौलाखोला, पालतखोला लगायतका तीन क्षेत्रमा मोटरवेल पुलको योजना आइसकेकाले छिट्टै ठेक्का सम्झौताका लागि पहल गर्ने मेयर जोशीले बताए।
परशुराम नगरपालिकाले १२ महिना नै सडक खुलाउने योजना लिएको छ । तर, यो सम्भव नहुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द खत्री बताउछन्। भौगोलिक अवस्था समेत जटिल भएकाले १२ महिना सडक सञ्चालन गर्नसक्ने अवस्था नभएको उनको भनाई छ।