काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको आयात र निर्यात दुबै घट्दा व्यापार घाटा पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको व्यापार घाटा ६ खर्ब ९३ अर्ब रुपैयाँ छ ।
यो गत आर्थिक वर्षको ६ महिनाको अवधिको तुलनामा २.६२ प्रतिशतले कम हो । गत वर्ष ६ महिनामा व्यापार घाटा ७ खर्ब ११ अर्ब ८६ करोड बराबर थियो । चालु वर्षको ६ महिनामा नेपालले ७ खर्ब ६८ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ
। त्यस्तै ७४ अर्ब ९६ करोड रुपैयाँको निर्यात र वैदेशिक व्यापार ८ खर्ब ४३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा वैदेशिक व्यापार घट्दा भन्सार बिन्दुबाट हुने राजस्व संकलन भने बढेको छ । वैदेशिक व्यापार घटेको वर्ष सरकारले भन्सार बिन्दुबाट उठाउने राजस्व भने बढेको छ । यो वर्ष ६ महिनामा भन्सार राजस्वबाट २ खर्ब १० करोड रुपैयाँ उठेको छ ।
यो गत आवको यसै अवधिको तुलनामा ६.३४ प्रतिशत धेरै हो । गत आवमा सरकारले १ खर्ब ८८ अर्ब १७ करोडबराबर राजस्व उठाएको थियो । यस वर्ष सरकारले ६ महिनामा भन्सारबाट ३ खर्ब ६ अर्ब १७ करोड राजस्व संकलन लक्ष्य राखेको थियो । तर, संकलन भने लक्ष्यको ६५ प्रतिशतमात्र भएको छ ।