काठमाडौं। ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ–सेभेन भिषामार्फत पनि नेपाली दक्ष कामदारको माग गरेको छ । यो भिसामार्फत नेपाली कामदार दक्षिण कोरिया पठाउन सरकारले छलफल सुरु गरेको छ । कुनै निश्चित क्षेत्रमा विशेषज्ञता वा प्राविधिक सिप हासिल गरेका दक्ष कामदारहरुलाई इ सेभेन भिषा दिने गरिन्छ ।
नेपालले इ सेभेन भिषा खुला गरेमा निजी क्षेत्रका मेनपावर कम्पनीहरुले नेपाली दक्ष कामदारलाई कोरिया पठाउने छन् । पारिश्रमिक तथा सेवा सुविधा निकै राम्रो भएका कारण यो भिसामा जतिसक्दो ठूलो संख्यामा नेपाली कामदार पठाउन सरकारले पहल गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग थप छलफल गरेर अघि बढ्ने तयारी मन्त्रालयको छ । मन्त्रालयका अनुसार अहिले कोरियाले इ सेभेन भिषामार्फत वर्षेनि दश हजार बढी दक्ष नेपाली कामदारको माग गरेको छ ।
कोरियाले विशेष गरी इलेक्ट्रोनिक्स, मेकानिकल इन्जिनियरिङ, हार्डवेयर र सफ्टवेयर विकास, केयर गिभररहस्पिटालिटी लगायत विभिन्न क्षेत्रमा विशेषज्ञता भएका व्यक्तिहरूलाई इ सेभेन भिषा दिने गरेको छ । इ सेभेन भिषामा जाने कामदारले परिवार पनिसँगै लैजान पाउने व्यवस्था रहेको छ । यस्तो भिसा अवधि सुरूमा तीन वर्ष र विशेष अवस्थामा पाँच वर्षसम्म हुनेछ भने करार अवधि पनि असीमित हुने मन्त्रालयले जनाएको छ ।