मंगलवार, आश्विन २० गते २०८३

सत्ता टिकाउन राष्ट्र र राष्ट्रियताका पक्षमा प्रश्न उठ्नेगरी सम्झौता हुँदैन : प्रधानमन्त्री

सोमवार , कार्तिक १२, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्र र राष्ट्रियताका पक्षमा प्रश्न उठ्नेगरी कुनै सम्झौता नगरिने स्पष्ट गरेका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आइतबार यहाँ आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गरे ।

“अहिले अनेक नाममा राष्ट्रिय सुरक्षाको किल्लामा हमला गर्न खोजिएको छ । अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाड्ने सङ्कल्पका साथ हामी अघि बढ्का छौँ । सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्र र राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्नेजस्ता घिनलाग्दा काम हामीबाट हुनसक्दैन ।” प्रधानमन्त्री ओलीले भने, “यसअघि नाकाबन्दीको सामना गर्दा सरकारबाट बाहिर पुग्यौँ होला तर कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सत्तामा आउँछौँ भनेका थियौँ र आयौँ पनि । दुई ठूला राजनीतिक दल एमाले र नेपाली कांग्रेससहितको वर्तमान सरकार राष्ट्रिय एकताको भावनाको रक्षा र देशको हितका लागि पूर्ण कटिबद्ध भएर काम गरिरहेका छ ।” हतियार बिसाएका मात्रै हौँ भनेर दिइने धम्कीप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले माटामुनी लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने भन्दै नेपाली समाजलाई झुठो प्रचार गरेर धम्की नदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गरे । आफूलाई अलोकप्रिय भएको भनेर टिप्पणी गर्नेहरुलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “भाडामा ल्याइएकाहरुले केपी ओलीको साख घट्यो भन्न सक्छन्, सचेत जनतालाई थाहा छ कि हामी कति लोकप्रिय छौँ भन्ने । ओलीको साख घटेको भन्नेहरुले २०८४ को निर्वाचनसम्म कुर्नुपर्ला, त्यसपछि परिणाम थाहाहोला ।”

लोकतन्त्र भनेको छाडातन्त्र नभएको स्पष्ट गर्दैै प्रधानमन्त्री ओलीले भने, “नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छौँ, चुट्छौँ, मार्छौ, काट्छौँ भन्नु छाडातन्त्र हो, प्रजातान्त्रिक शासन व्यवस्थामा त्यस्ता क्रियाकलाप सैह्य हुँदैनन् ।” उनले राष्ट्रका लागि आवश्यक परे पूर्व सुरक्षाकर्मी एकता र अनुशासनका साथ खट्नुपर्ने र नयाँ पुस्तालाई प्रेरणा दिनुपर्ने बताए । सामाजिक सञ्जालमा जथाभावि प्रस्तुत हुनेहरुलाई उत्तरदायी बनाउने बाटोमा वर्तमान सरकार रहेको उनले स्पष्ट गरे । सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई कानुनअनुसार सरकारले कार्यान्वयन गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्रीउफ्री कराउनु लोकतान्त्रिक मूल्यमान्यताविपरीत भएको टिप्पणी गरे । उहँले आफूले कसैप्रति पूर्वाग्रह नराख्ने र न्यायिक निरुपणबाट हुने निष्कर्षलाई सबैले मान्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले दुई–चार जना अराजक तत्वहरू सडकमा उफ्रँदैमा नेपालमा ‘डेमोक्रेसी’ खत्तम नहुने चेतावनी दिए । प्रधानमन्त्री ओलीले लोकतन्त्र त्यति सजिलै प्राप्त नभएको भन्दै कोही उफ्रँदैमा डेमोक्रेसी खत्तम नहुने दावी गरे । ‘म भन्दिन चाहन्छु, दुई–चार अराजक तत्वहरू सडकमा उफ्रिएर नेपालमा डेमोक्रेसी खत्तम हुँदैन । हुन दिइने छैन’, प्रधानमन्त्रीले भने । उनले जरुरी पर्दा राजनीति के हो र देशका लागि राजनीति कस्तो हो र कसरी बचाउनु पर्छ भन्ने बुझेको पनि बताएका छन् ।

कसैले हतियार चलाउन बिर्सेका छैनौँ भन्दैमा आत्तिनु नपर्ने भन्दै प्रधानमन्त्रीले दुई–चार हजारको जुलुस निस्कँदैमा भरे भोलि नै गयो सरकार भनेर प्रचार भएकोमा आक्रोश पोखे । प्रधानमन्त्री ओलीले माओवादी र रास्वपाको आन्दोलनलाई लक्षित गर्दै भने, ‘खाने बेलामा आँखा नदेख्ने अनि अहिले अरूलाई गाली गर्ने । अन्याय भो भन्ने । फेरि न्याय दिने काम त मेरो होइन । खुर्सानी चपायो भने पिरो हुँदैन रु’ उनले सरकारले कसैलाई पनि अन्याय गर र गिरफ्तार गर नभन्ने बताए । ‘निष्पक्षताबाट सरकार पछि हट्दैन । दुई–चार जना कराएर न्यायालय प्रभावित पार्छु भन्ने ठानेको छ भने मैले विश्वास लिएको छु त्यस्ता हा।।हु।।बाट प्रभावित हुन थाल्यो भने नेपालमा न्यायको सम्भावना नै हुँदैन’, प्रधानमन्त्रीले थपे, ‘मैले हिजो अदालतमाथि आक्रमण गर्दै बोलेको सुने ।’

उनले हिजो आफूले सहकारीबारे समिति नबनाऊ भन्दा उनीहरुले नै बनाउनुप र्छ भनेर जोड गरेको भन्दै सर्वसम्मत समितिले सिफारिस गरेको विषयमा सडकमा उफ्रनु गलत अभ्यास रहेको बताए । उनले भवितव्यमा राजनीतिमा आएकाहरूले त्यस्तो व्यवहार देखाएको भन्दै वर्तमान सरकार सहमतिअनुसार अघि बढ्ने दाबी गरे । प्रधानमन्त्री ओलीले माओवादीले धक्क्याएर खान वाहेक केहि नजानेको समेत आरोप लगाएका छन् । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट अवकाशप्राप्त उच्च अधिकृतहरूले राष्ट्रिय सुरक्षा र पूर्व सुरक्षाकर्मीको भूमिकाबारे विचार प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार