काठमाडौँ । प्यालेस्टाइनी विद्रोही समूह हमासले १४ महिनादेखि बन्धक बनाएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी जीवितै रहेको इजरायलले जनाएको छ । नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले जोशी गाजा क्षेत्रमा जीवितै रहेको सूचना पाएको जानकारी दिएका हुन् ।
अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी जोशी जीवितै रहेको सूचना आफूहरूले पाएको बताउँदै उनले बिहीबार काठमाडौंमा पत्रकारहरूसँग भने, ‘हाम्रा लागि विपिन निकै महत्त्वपूर्ण छन् । उनी छिट्टै काठमाडौं फर्किनेछन् ।’
राजदूत वासले विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताए । ७ अक्टुबर सन २०२३ मा विपिनलाई हमासले इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो । त्यसयता उनको अवस्था अज्ञात छ ।
हमासको कब्जामा अझै पनि १०० भन्दा बढी इजरायली र विदेशी नागरिक छन् । नेपालले विपिनको रिहाइका लागि लामो समयदेखि कूटनीतिक पहल गरिरहेको छ । इजरायलसँगको सम्झौताअनुसार हमासले केही बन्धकहरूको रिहाइ गरे पनि त्यो सूचीमा विपिन परेका थिएनन् ।