काठमाडौँ । त्रेता युगमा भएको भगवान राम सीताको विवाहको सम्झानामा आज जनकपुरधाममा बिबाह पञ्चमी मनाइदैँछ ।
भारतबाट हरेक पाँच वर्षमा आउने जन्तीहरु समेत जनकपुरधाम आइपुगेपछि मेला हेर्न श्रद्धालुहरु समेत जनकपुरधाम आउन सुरू गरेका छन् । शुक्रबार भब्य बिबाह पञ्चमी समारोह हुदैँछ ।
जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन् । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् । सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्श पत्नी, आदर्श माता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरणको रूपमा सीतालाई लिइन्छ ।सीतालाई सच्चरित्रता, नारीत्व, मातृत्वाशल्य र करूणाका खानीका रूपमा सम्मान गरिन्छ ।
राजा जनकले संरक्षण गरिराखेको शिव धनु जो ठुला ठुला वीरहरूले पनि उचाल्न सक्दैनन् थिए, सीताले उक्त धनु पूजा कोठाको सर सफाइका बेला एक्लै वरपर सार्ने गर्थिन् । त्यसैले नै राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसँग मात्रै सीताको स्वयंवर गर्ने बाचा गरेका थिए । त्यही शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धूमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो ।
त्यही बेलादेखि विवाह पञ्चमी उत्सव मनाइँदै आएको हो । यो विवाह महोत्सव अपराह्नको समयमा गरिन्छ तर बिहानैदेखि राम जानकी मन्दिर सहित मिथिला क्षेत्रका अन्य मन्दिरहरूमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । राम र सीताको स्वयंवर सकिएपछि दुलाहा र दुलहीलाई बोकी ल्याइएका रथहरूलाई बाजागाजा सहितको र्यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ ।