काठमाडौं । बैतडीको डिलासैनी गाउँपालिका वडा नं. ७ स्थित खेतागाउँमा नेपाल टेलिकम टावरको सेवा सुरु हुने भएको छ । यो सँगै खेतागाउँमा लामो समयदेखि मोबाईल नेटवर्क नहुदाँ सञ्चार सम्पर्कका लागि परेको समस्याको समाधान हुने भएको हो ।
वैशाख-२३ गते बाट खेतागाउँमा निर्मित टेलिकम टावरबाट फोर जि नेटवर्कको सेवा सुरु हुने भएको त्यहाँका स्थानीय स्रोतले जानकारी दिएका छन् । स्रोतका अनुसार अब खेतागाउँ र आसपासका गाउँहरुमा मोबाईल सम्पर्कका लागि स्थानीयलाई सहज हुने र नेटवर्क खोज्न डाँडाकाँडा पुग्न नपर्ने बताएका छन् ।
खेतागाउँमा धेरै पहिले देखिनै मोबाईल नेटवर्कको समस्या अत्यधिक रहेको थियो । यहाँ मोबाइल नेटवर्क मात्र होइन बिजुलीको पनि समस्या रहेको थियो । तर अहिले गाउँमा बिजुली पुगे पनि घरघरमा सेवा सुचारु हुन सकेको छैन् ।
स्रोतका अनुसार, ‘दार्चुला जिल्ला टेलिकम कार्यालय प्रमुख गुरुङ सर,हाम्रो पालिकाका ईन्जिनियर सर,गोकुलेस्वर फ्युज सेवाका प्रमुख केशब सर लगायत हामी साथिहरुले टेलिकम टावरमा बिद्युत लाईन पुगाएर बिद्युत मिटर जडान,Outdoor Battery Cabinet राख्नुका साथै केही अत्याबस्यक प्राबिधिक कामहरु सम्पन्न गर्न सफल भएका छौ । वैशाख-२३ गते बाट नेटवर्क खोज्न डाँडाकाँडा चढ्नुपर्ने, घाम पर्खनुपर्ने, बेलुकी घाम अस्ताएपछि बिहान ९ बजेसम्म पर्खनुपर्ने अवस्था नआउने (बिद्युत लाईन पुगिसकेको र ५ घण्टा Battery backup रहने) भएकाले आफ्नै घरभित्रबाट यहाँहरुले फोर जि नेटवर्कको सेवा पाउनु हुनेछ ।’
स्रोतले भने, ‘नेपाल टेलिकमको सेवा सुरु हुने भएपछि हामीलाई खुशी लागेको छ, अब गाउँमा सम्पर्क गर्न धेरै सहज हुने भयो ’ । मोबाईल नेटवर्क सहज भएसँगै देश विदेशमा सम्पर्क गर्न सकिने छ ।