बुधवार, आश्विन १४ गते २०८३

महरा प्रकरणमा जोडिएकी रोशनी शाहीले यस्तो लेखेकी थिइन् सुसाइड नोटमा

सोमवार , जेठ १३, २०८२

काठमाडौँ । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही आइतबार मृत फेला परिन् । 

भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेकी हुन् । 
उनका पति चित्रजंग शाही एक गैरसरकारी संस्थाको जागिरका क्रममा विराटनगरमा थिए । 

दिउँसो १२ बजे प्रहरी घटनास्थलमा पुगेपछि रोशनीका पतिलाई प्रहरीले घटनाबारे अवगत गरायो । खबर पाएको एकघण्टाभित्रै उनी जहाज चढेर काठमाडौं ओर्लिए । विमानस्थलबाट सीधै घटनास्थल पुगे । त्यसपछि स्थानीय जनप्रतिनिधिको रोहवरमा प्रहरीले ढोका फोड्यो । रोशनी मृत अवस्थामा फेला परिन् । त्यहाँ प्रहरीले सुसाइड नोट पनि भेट्यो । रोशनीले दुईवटा कागजमा छोराका नाममा सुसाइड नोट लेखेकी छन् । उनका एकमात्र छोरा अहिले अमेरिकामा छन् ।

‘तिमी कुरा बुझ्ने छौ बाबू, तिम्रो भविष्यको लागि मैले केही गर्न सकेको छैन’, उनले लेखेकी छन्, ‘खुशी भएर बाँच्नु, म त यस्तै भएँ ।’

दुवै पानामा उनले छोराबाहेक अन्य प्रसंग केही लेखेकी छैनन् । तत्कालीन सभामुख महरामाथि लागेको बलात्कार आरोपले नेपाली राजनीतिक वृत्तमा व्यापक हलचल ल्याएको थियो। २०७६ असोजमा संसद सचिवालयमा कार्यरत रोशनीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्।

महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो ।  घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो भने लगत्तै पक्राउ परेका थिए । 

कानुनी प्रक्रियाअनुसार मुद्दा काठमाडौं जिल्ला अदालतमा पुग्यो। तर, अदालती बयानक्रममा पीडितले आफ्नो प्रारम्भिक आरोप फेरेकी थिइन् भने जसका कारण मुद्दाको प्रवाहलाई निर्णायक मोडमा पुर्‍यायो। अन्ततः २०७६ फागुनमा जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिँदै रिहा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार