काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव साथै बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले नेपालमा मौसम बदली र वर्षा हुने क्रम जारी छ।
यस क्रममा आज मंगलबार दिउँसो तथा राति पनि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
यस क्रममा पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।