काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।
पुलमा क्षति भएपछि अहिले आवागमन रोकिएको र डाइभर्सनको काम सुरु गरिएको बागमती प्रदेश ट्राफिक कार्यालय स्रोतले जनाएको छ । बाटो नखुलिसकेकाले अहिले काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने गाडी र तिनमा सवार यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।
सोताङ खोलामा अहिले नयाँ पुल निर्माणको काम भइरहेको छ । पुरानो पुलको छेउमा नयाँ पुल निर्माण गर्ने क्रममा भाइब्रेसनले गर्दा पुरानो पुलमा क्षति पुगेको अनुमान गरिएको छ ।
पुरानो पुल चर्केको र साइडमा भ्वाङ समेत परेकाले अहिले सवारी आवागमन पूर्णरुपमा रोकेर डाइभर्सनको काम सुरु गरिएको प्रहरीले जनाएको छ ।