काठमाडौं । जंगली च्याउको तरकारी खाँदा मकवानपुर र चितवनमा १६ जना बिरामी परेका छन् ।
मकवानपुर र चितवनका ग्रामीण क्षेत्रमा आफ्नै घर नजिकै उम्रिएको च्याउको तरकारी खाँदा १६ जना बिरामी भएका बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । चितवनको भरतपुर महानगरपालिकार राप्ती नगरपालिका र मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका स्थानीय च्याउको तरकारी खाँदा बिरामी परेका हुन् । जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका-८, ओकरेका ६१ वर्षीय वीरबहादुर तितुङ र उनका ८ वर्षीय छोरा बसन्त तितुङ आफ्नै बारीमा उम्रिएको जङ्गली च्याउ खाँदा बिरामी परेका हुन् । उनीहरूलाई छिमेकी सुजन तामाङले शनिबार उपचारका लागि हेटौँडा-१ स्थित सन्चो अस्पताल पुर्याएका थिए । प्रहरीका अनुसार दुवैको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।
यस्तै, चितवनको भरतपुर महानगरपालिका-२९, लामागाउँमा एकै परिवारका सदस्यसहित ५ जना जंगली च्याउको तरकारी खाँदा बिरामी परेका बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बिरामी पर्नेमा ८२ वर्षीया पुन्टी गुरुङ, उनका छोरा ४० वर्षीय धनबहादुर गुरुङ, बुहारी ३५ वर्षीया मनमाया गुरुङ, नातिनी ४ वर्षीया आरिया गुरुङ र छिमेकी ४५ वर्षीया सानुमाया परियार रहेका छन् । उनीहरूलाई उपचारका लागि शनिबार साँझ ६ बजे भरतपुर सरकारी अस्पताल पुर्याइएको थियो ।
धनबहादुर गुरुङ र मनमाया गुरुङको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जनाको अवस्था मध्यम रहेको प्रदेश प्रहरीले जनाएको छ । यता, चितवनकै राप्ती नगरपालिका-११, कोराकमा पनि जंगली च्याउको तरकारी खाँदा एउटै परिवारका ६ जना बिरामी भएका छन् । बिरामी पर्नेमा ३० वर्षीया माया प्रजा, ३५ वर्षीया बुद्धि माया प्रजा, ११ वर्षीया जुनिसा प्रजा, ९ वर्षीया रेनिसा प्रजा, ७ वर्षीया अमृत प्रजा र २८ महिनाकी शिशु सलिन प्रजा रहेका छन् ।
च्याउको तरकारी खाएपछि विभिन्न स्वास्थ्य समस्या देखा परेका उनीहरूलाई उपचारका लागि शनिबार राति ११ बजे सरकारी अस्पताल, भरतपुरमा भर्ना गरिएको प्रहरीले जनाएको छ । यी बिरामी सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।