आइतवार, आश्विन १८ गते २०८३

यो सरकार देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको छ : अध्यक्ष प्रचण्ड

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार देशलाई नै असफल बनाउने दिशातर्फ अगाडि बढेको आरोप लगाएका छन् ।

बिहीवार ललितपुरमा ‘श्रम उत्पादनमा वाईसीएल अभियान’ को शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सुशासनका विरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको छ ।’ उनले प्रतिपक्षले खबरदारी गर्दागर्दै पनि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त हुने र जनभावना विपरीत गए सरकारको प्रतिवाद सडकबाट गर्ने चेतावनी दिएका छन् ।

उनले थपे, ‘अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही पनि छैन ।’ प्रचण्डले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको बताएका छन् । उनले भने, ‘देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा छ,’ ।

अध्यक्ष प्रचण्डले भने, ‘हामी सबैले जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासनको पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा हामी लाग्नुपर्छ ।’ उनले युवालाई संगठित गरेर मात्रै परिवर्तन उल्ट्याउनेहरू विरुद्ध सफलता हात पार्नसक्ने बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार