आइतवार, आश्विन १८ गते २०८३

सांसद ज्वाला भन्छन्– चक्रपथ विस्तारको काम सधैँ रोक्ने हो भने विकल्प खोजौं

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले कलंकी–नारायणगोपाल चोक–कोटेश्वर चक्रपथ विस्तारको काम छिटो अगाडि बढाउन नसक्ने विकल्प खोज्नुपर्ने प्रस्ताव राखेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको संसदको पूर्वाधार विकास समितिको बैठकमा सांसद ज्वालाले चिनियाँ कम्पनीले निर्माण गर्न लागेको चक्रपथ विस्तारको काम सँधै ‘होल्ड’ मा राख्ने हो भने विकल्प खोज्नुपर्ने बताएका छन् । सांसद ज्वालाले सर्वसाधारणलाई प्राविधिक कुरा वा सरकारी प्रक्रियासँग सरोकार नभएको भन्दै सबैले छिटो परिणाम खोजेको स्पष्ट पारेका छन् ।

उनले भने, ‘तुरुन्तै अगाडि बढ्छ भन्ने वचन सँधै आइरहने तर ठोस रुपमा अगाडि नबढ्ने, यो समस्या हामीले पहिल्येदेखि भोग्दै आएको हो, खासै काम अगाडि बढेको देखिँदैन । प्रक्रियागत झमेला, ढिलाई, यो असाध्यै झन्झटिलो देखिन्छ ।’ उनले काम शुरु हुने हो भने कहिलेदेखि हुने र नहुने भए विकल्पका लागि तयार रहन आग्रह गरेका छन् ।

सांसद ज्वालाले भने, ‘यसको डिटेल, प्रक्रिया बताए पनि मूल सरोकार यसको ढिलाई किन भयो, छिटो काम शुरु हुनुपर्‍यो भन्ने हो । टेक्निकल कुरामा जानु परेन । छिटो काम शुरु हुनुपर्‍यो । अब नहुने हो भने विकल्प खोज्नुपर्‍यो । होल्डमा मात्रै राख्न भएन ।’

उनले राजधानीकै सडकको बेहाल हुनु लाजमर्दो कुरा भएको बताएका छन् । दुर्गमतिर, कर्णाली वा सुदूरपश्चिमतिर झन् कस्तो अवस्था होला भन्दै उनले प्रश्न गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार