आइतवार, आश्विन १८ गते २०८३

योगेश भट्टराई भन्छन्– यो भेटघाट नेकपा एमालेका लागि महत्त्वपूर्ण छ

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच जारी भेटवार्ता महत्त्वपूर्ण रहेको बताएका छन् ।

ओली–भण्डारीबीच भेटवार्ता चलिरहँदा पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले यस्तो बताएका हुन् । भट्टराईले भने, ‘यो भेटघाट नेकपा एमालेका लागि महत्त्वपूर्ण छ । हाम्रो पार्टीभित्र उत्पन्न विषय कसरी हल गर्ने भन्ने मोडल पनि यसबाट निस्कनुपर्छ, ।’ पार्टी बैठकमा नेताहरूले राखेको सुझाव अनुसार नै आज भेटवार्ता भएको भट्टराईले बताएका छन् ।

उनले भने, ‘पार्टीभित्र चलिरहेको एउटा बहस छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने र भूमिका खेल्ने भन्ने विषय सार्वजनिक रुपमा उहाँले राख्नुभएको छ । अधिकांश नेताहरूको पार्टी अध्यक्षसँग कुराकानी हुनुपर्छ, यो विषय आफ्ना आफ्ना कोणबाट अभिव्यक्ति दिने भन्दा पनि छलफल गरेर उपयुक्त कुराको निकास निकाल्नुपर्छ भनेर सबैले सुझाव दिनुभएको छ । सोही अनुसार भेटवार्ता भएको हो ।’

भट्टराईले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय भने प्राविधिक रहेको जनाएका छन् । भट्टराईले भने, ‘सदस्यताको विषय प्राविधिक कुरा हो । प्राविधिक कुरा टुंगिनु अघि राजनीतिक कुरा त्यसअघि टुंग्याउनुपर्छ, ।’

उनले थपे, ‘प्राविधिक कुरामा धेरै बहस गर्नु आवश्यक छैन । मुख्य कुरा भनेको राजनीतिक कुरा हो । त्यो टुंगिएपछि यो त भइहाल्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार