काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीचको भेटवार्ता सकिएको छ ।
उनीहरुबीच एमाले पार्टी केन्द्रीय कार्यालयमा झण्डै दुई घण्टा छलफल चलेको थियो । छलफलका लागि पूर्वराष्ट्रपति भण्डारी करिब साढे ३ बजेतिर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेकी थिइन् । अध्यक्ष ओली भने करिब ४ बजेतिर कार्यालय आएपछि उनीहरूबीचको एक्लाएक्लै छलफल सुरु भएको थियो ।
छलफल सकिएपछि उनीहरू दुवै जना पार्टी कार्यालय च्यासलबाट बाहिरिसकेका छन् । दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी आपसमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए ।
बैठकमा प्राप्त सुझावलाई ख्याल गर्दै अध्यक्ष ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने बताएका थिए । ५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठक अघि नै यसलाई टुंग्याउनुपर्ने ‘म्यान्डेट’ अनुसार ओलीले भण्डारीसँग छलफल थालेका हुन् ।
के भयो कुराकानी ?
दुई नेताबिचको छलफलमा के भयो भन्ने दुवै नेताले बताइसकेका छैनन् । वार्तापछि भण्डारीले सकारात्मक छलफल भएको संक्षिप्त प्रतिक्रिया दिइन् । उनले समसामयिक विषयमा छलफल भएको बताएकी छिन् । पार्टी सदस्यताको विषयमा सोधिएको प्रश्नमा भने उनले नवीकरण भइसकेको जवाफ दिएकी छन् ।
यद्यपि एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले दुई नेताबिचको छलफल सकारात्मक भएको टिप्पणी गरेका छन् । उनले भने, ‘छलफल त उहाँहरूका बीचमा मात्रै भयो । उहाँहरूका बीचमा दुई घण्टा छलफल भयो । उहाँहरू दुवैको बडिल्याङ्ग्वेज हेर्दाखेरि सकारात्मक देखेँ । उहाँहरूको हार्दिकता, सम्मान, निकै लामो समययता राजनीतिक सहकार्य चलेको, भनेपछि उहाँहरू दुबै सकारात्मक हुनुहुन्छ, ।’
उनले थपे, ‘ठ्याक्कै के भयो भन्ने त उहाँहरूलाई नै थाहा छ ।’ उनका अनुसार, पछिल्लो समसामयिक विषयमै केन्द्रित रहेर छलफल भएको बुझिएको छ । यद्यपि, छलफलका अन्य विषय बाहिर आएको छैन ।
२ घण्टाको भेटवार्तापछि च्यासलबाट निस्कने क्रममा दुवै नेताको अनुहार हसिँलो देखिन्थ्यो ।