काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो कुनै मतभेद नरहेको दाबी गरेका छन् ।
आइतबार भएको आफ्नो भेटबारे आज सुरु भएको केन्द्रीय समिति बैठकमा ब्रिफिङ गर्दै ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीलाई उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘भेटका क्रममा सबै कुराहरू खुलस्त भएका छन् । अहिले नेपालको राष्ट्रिय राजनीति कसरी विकास भइरहेको छ, एमाले कसरी निशाना बनिरहेको छ, एमालेलाई विभाजन गर्ने तत्त्वहरू कसरी सलबलाइरहेका छन् भन्नेदेखि लिएर सरकारले गरिरहेको कामहरू, त्यसपछि आएर विधान महाधिवेशनको तयारीका सम्बन्धमा उहाँहरूले एक अर्कामा अत्यन्त खुलस्त ढङ्गले छलफल गर्नुभएको हो ।’
उनले थपे, ‘हाम्रा बीचमा धेरै मतभेद केही छैन भन्ने कुराहरू राख्नुभएको छ ।’ गौतमले भण्डारीको सदस्यताबारे केन्द्रीय समितिले निर्णय गर्ने पनि ओलीले जानकारी गराएको बताएका छन् । उनले भने, अब जहाँसम्म पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनुहुन्छ कि हुन्न भन्नेबारे पार्टी अध्यक्षले अहिले चलिरहेका जति पनि अभ्यासहरू छन्, त्यसका बारेमा स्पष्ट दृष्टिकोण राख्नुभएको छ ।’
गौतमले थपे, ‘पार्टी सदस्यताका बारेमा पनि त्यति धेरै विवाद गर्नुपर्ने विषय रहेन । यसबारे अब केन्द्रीय समितिले आवश्यक छलफल गरेर अन्तिम टुङ्गो लगाउँछ भन्ने कुरा छ । खुलस्त ढङ्गले भेट गर्यौँ ।’
आइतबार ओली र विद्याका बीचमा झन्डै दुई घण्टा वार्ता भएको थियो । उक्त वार्ताबारे ओलीले आजको बैठकमा जानकारी गराएका हुन् ।