आइतवार, आश्विन १८ गते २०८३

भूमि विधेयकबारे शेखरको प्रश्न– किन समितिमा छलफल गर्न एमालेका सांसदहरू डराइरहेका छन् ?

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूमि विधेयकबारे एमालेका सांसदहरू समितिमा छलफल गर्न डराइरहेको बताएका छन् ।

४३औं बीपी स्मृति दिवसमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भूमिसम्बन्धी विधेयक समितिमा नलगी एमालेले किन पारित गर्न हतार गरिरहेको छ भन्नेबारे ध्यान दिन आग्रह गरेका छन् । त्यस्तै उनले भ्रष्टमन्त्रीको विषयमा बोल्न कांग्रेसका नेताहरू लाछी भएको बताएका छन् । डा. कोइरालाले भने, ‘भूमिसम्बन्धी विधेयक समितिमा जान्थ्यो, भ्रष्ट मन्त्रीहरू एक जनाले त राजीनामा दिनुभयो, अझै एक जना बाँकी हुनुहुन्छ, कांग्रेसका साथीहरू कति लाछी भइसकेका रहेछन्, एमाले कास्कीका जिल्ला समितिले भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनुपर्छ भनेको छ, तर हामी चुप लागेर बसेका छौं ।’

उनले भने, ‘योभन्दा लाछीपन के हुन्छ हाम्रो ? कांग्रेस विचारमा कमी छैन, तर कांग्रेसको मूल्यमान्यतामा जबसम्म हामी अड्दैनौं यस्ता समस्या आइरहन्छ । भूमि विधेयक के हतार छ पारित गर्न ? आजभोलि नै पास गर्न ? किन समितिमा छलफल गर्न एमालेका सांसदहरू डराइरहेका छन् ?’ उनले सत्ता नेतृत्वकर्ता नेकपा एमालेले पार्टीको मूल्यमान्यतामाथि आक्रमण गरेको पनि टिप्पणी गरेका छन् ।

संघीय निजामती विधेयकमा कुलिङ पिरियड राख्न नहुने नेकपा एमालेको अडानको प्रसंग निकाल्दै कोइरालाले भने, ‘सच्याउने नाममा राष्ट्रिय सभामा एमालेका सांसदहरूले उल्टै कुलिङ पिरियड हटाउनुपर्छ भनेर लेख्ने भनेको कांग्रेसको मूल्यमान्यतामा आक्रमण गरेको हो कि होइन् ? जसरी सभापतिले टेक एण्ड पेमा अडान लिनुभएको थियो, त्यो अडान चाहिएको छ हामीहरूलाई ।’

कुलिङ पिरियडको विषयमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो कुराहरू स्वीकार्न सकिँदैन भनेर भन्न सक्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘हामीहरूले बोल्यौं कुलिङ पिरियडमा ? अहिले पनि सभापतिजीले प्रधानमन्त्रीलाई राखेर भन्नुपर्छ– यो स्वीकार्य हुन्न फटाफट गर्नुस् भनेर,  गल्ती हामीबाट पनि भएको छ, कांग्रेसका सांसद, मेरो र राज्य व्यवस्था समितिका साथीहरूको पनि गल्ती छ, राज्य व्यवस्थाको सभापतिले किन हेरेन् ? गल्ती छ ।’

उनले पार्टीले ह्विप लगाउँदा किन लगाएको भनेर प्रश्न गर्ने ठाउँ निस्किएको बताएका छन् । उनले भने, ‘प्रतिनिधि सभाले संवैधानिक विधेयक पास गर्‍यो, हामीहरूले पास गर्‍यौँ, राष्ट्रिय सभाले त्यसलाई परिमार्जन गरेर पठायो, हामीहरूले दुई दिन रोक्यौं, अनि कांग्रेसको प्रमुख सचेतकले ह्विप लगाउनुपर्‍यो, ह्विप लागेपछि हामीसँग उपाय छैन, हामीले गर्नैपर्छ । किन ह्विप लगाएको भनेर प्रश्न गर्ने कि नगर्ने यी कुरामा ? यो मुद्दा त अदालतमा जान्छ–जान्छ, त्यति कुरा कांग्रेसका चिफलाई थाहा छैन ? लगाउन हुन्थ्यो ह्विप ? यो गम्भीर विषय छ ।’

डा. कोइरालाले थपे, ‘यो विषयले गर्दा कांग्रेसको मुटुमा, ‘कोरभ्यालु’मा एमालेले हामीहरूलाई आक्रमण गरिराखेको छ । हामी चुपचाप लागेर बसिरहेका छौँ, बीपी भएको भए यो कुरा स्वीकार गर्नु हुँदैनथ्यो, त्यो बुझौँ हामीहरूले ।’ उनले निर्वाचन प्रणाली यस्तै छ प्रधानमन्त्रीले जे भन्यो त्यो मानौँ भनेर बीपीले नभनेको भन्दै देउवालाई व्यंग्य गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार