आइतवार, आश्विन १८ गते २०८३

एमालेलाई सांसद चन्दको प्रश्न- कुलिङ पिरियडबारे धारणा के हो ?

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । कुलिङ पिरियडमा सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेलाई प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी सांसद रेणु चन्दले कुलिङ अफ रिपरियडबारे पार्टीको धारणा के हो स्पष्ट गर्न आग्रह गरेकी छिन् ।

मंगलबार राष्ट्रिय सभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै सांसद चन्दले सरकारी कर्मचारीलाई अवकाशपछि २ वर्ष संवैधानिक, कुटनीतिक वा अन्य नियुक्ति दिने सम्बन्धी कुलिङ पिरियडको प्रावधानमा एमाले एकमत रहेको महसुस हुन नसकेको बताएकी हुन् । चन्दले स्मरण गर्दै भनिन्, ‘यही रोष्ट्रमबाट केही दिन अगाडि सूचना प्रविधि तथा सञ्चारमन्त्रीले निजामती विधेयक पेस गर्दा भन्नुभयो– भाइरस पस्यो । राष्ट्रिय सभाले ठीक गरिदिन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।’

प्रतिनिधिसभाबाट पारित भएर गएको निजामत सेवा विधेयक सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ३१ असारमा राष्ट्रिय सभामा पेश गरेका थिए । त्यसक्रममा उनले कुलिङ पिरियडको पक्षमा वकालत गरेका थिए । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा कुलिङ पिरियडको अवधिबारे बहस हुँदा सुरुमा एक वर्ष राख्ने कि दुई वर्ष राख्ने भन्ने बहस भएको उनले स्मरण गरेका थिए ।

अन्तिममा २ वर्ष कुलिङ अफ पिरियड राख्ने गरी राज्य व्यवस्था समितिले अगाडि बढाएको स्मरण गर्दै मन्त्री गुरुङले भनेका थिए, ‘तर त्यहाँ एक्सिडेन्ट भयो । भाइरस पस्यो भन्नु पर्यो । त्यो भाइरसलाई फाल्ने काम यो राष्ट्रिय सभाको हो ।’ सञ्चारमन्त्री गुरुङको यही अभिव्यक्तिमा टेकेर माओवादी सांसद चन्दले एमालेमा कुलिङ पिरियडलाई लिएर एकमत नरहेको शंका लागेको बताएकी हुन् ।

चन्दले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीको पार्टीको माननीयज्यूहरूले कुलिङ अफ पिरियडबारे जो संशोधन राख्नुभएको छ । यो भाइरस अब कताबाट पस्यो भन्ने बुझ्न गाह्रो भएन ।’ एमाले पार्टीभित्र कतिपय विषयमा एकमत नरहेको भन्ने आउन थालेको उल्लेख गर्दै उनले कुलिङ पिरियडमा पनि यस्तै भएको हो कि भन्ने शंका दोहोर्‍याइन् ।

चन्दले प्रश्न गरिन्, ‘एमाले पार्टीमा अहिले अलिकति लाइनक्रस कुराकानी चलिरहेको हुनाले यहाँ (निजामती विधेयक) प्रस्तुत गर्ने मन्त्रीको लाइन र संशोधन हाल्ने माननीयको लाइन मिलेनछ कि क्या हो ? त्यसैले यहाँ फरक पर्‍यो ।’ यसलाइ अझ प्रधानमन्त्रीसँगै जोडेर हेर्नुपर्ने उनको भनाइ रहेको छ ।

उनले भनिन्, ‘त्यही पार्टीको मन्त्रीले यहाँ सुधार्नुपर्‍यो भन्छ । त्यही पार्टीका माननीयज्युहरूले अलग तरिकाले संशोधन हाल्नुहुन्छ । त्यसैले यो भाइरसलाई गुट ब्याक्टेरिया बुझेर कन्फ्युज त हुनुभएन माननीयज्यु ?’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार