काठमाडौं । प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले प्रधानमन्त्री ओलीले कुश्मामा रेल–वे स्टेशन बनाउने घोषणा गरे पनि आगामी आर्थिक वर्षको बजेटमा त्यसका लागि बजेट विनियोजन नभएकोप्रति प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा बोल्दै सांसद चौधरीले बजेट वक्तव्यमा कुश्मामा रेलवे स्टेसन बन्ने कुरा नपरेको विषयमा प्रश्न गरेका थिए । उनले भने, ‘कुश्मामा रेलको स्टेशन बन्ने कुरा गर्नुभएको थियो । त्यो विषयमा बजेट वक्तव्यमा समेटिएन । जग्गा अधिग्रहण गर्ने कुरा पनि आएन । कुश्माका जनताहरू रेल स्टेशन बन्ने विषयमा आशावादी हुनुहुन्छ । तर सम्बोधन नभएपछि निराश हुनुहुन्छ ।’
जबाफमा प्रधानमन्त्री ओलीले सिधा व्यंग्य गर्न खोजिएको बुझिने बताएका छन् । उनले भने, ‘माननीय ज्यूले कुश्मामा रेल–वे स्टेशन भनेर व्यंग गर्न खोज्नुभएको बुझिन्छ । हिजो बेलुका बनाउने भनेको रेलमार्ग बिहानसम्म तयार भएन भन्ने प्रश्न भयो ।’ उनले प्रश्न गरे, ‘रेल भनेको बेलुका भनेर रातिसम्म वा बिहानसम्ममा तयार हुने हो र ?’ प्रधानमन्त्री ओलीले विकास निर्माणको प्रक्रिया हुने बताएका छन् । प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरे, ‘यो स्वस्थानी वर्त कथामा शिवजीले पार्वतीलाई देखाएको महल हो र पल्लापट्टि ?’
उनले नेपालमा रेल ल्याउन सम्भव छ भनेर पट्रीहरू बिच्छ्याउन लगाएर, रेल बनाउन लगाएर, रेल किनेर ल्याएर जनकपुरमा चलाइएको बताएका छन् । उनले भने, ‘चल्दै चल्दैन भनेर रेलमा गफ मात्रै हो भन्नेहरू पनि थिए, त्यसबेला माननीय ज्यू पनि संसदमा हुनुहुन्थ्यो भने यी प्रश्नहरु त्यसबेला पनि गरिएको हुन सक्छ ।’ प्रधानमन्त्री ओलीले विकास निर्माण गर्दा भोलिका सन्ततीहरुको लागि पनि सोच्नुपर्ने बताएका छन् ।
उनले भने, ‘आजको छाक मात्रै हेर्ने होइन हामीले भविष्यका सन्ततीको सुविधासम्म हेर्नुपर्छ । उनीहरूको विकाससम्म हेर्नुपर्छ । उनीहरूको सहुलियत र सुनद्र र सुखी भविष्य हेर्नुपर्छ । भोलिका लागि हो विकास आजका लागि मात्रै होइन ।’