काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी गरेका छन्।
चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको ओलीले जानकारी गराएका छन्। ओलीले सामाजिक सञ्जालमा गत वर्षको तुलनामा आफू नेतृत्वको सरकार आएपछि ८१.८० प्रतिशत निर्यात बढेको उल्लेख गरे।
उनले भने, ‘यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौं। हामी सरकारमा आउनु भन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो। गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको छ।’
निर्यात वृद्धिको यो तथ्यांकले सरकारको नीति सही दिशातर्फ उन्मुख रहेको अर्थ मन्त्रालयले जनाइएको छ। निर्यातको आकारमात्रै हेर्दा गत वर्ष निर्यातमा छलाङ मारेको देखिने बताउँछन्, व्यापारविज्ञ रवि सिंह सैंजू। अघिल्लो वर्ष व्यापार (आयात तथा निर्यात) अनुपात ९.५ प्रतिशत थियो। तर अहिले यस्तो अनुपात घटेर ६.५१ प्रतिशतमा झरेको छ।