उनले भने, ‘नेपालमा केही हुँदैन, केही हुन सक्दैन भन्ने एक किसिमको भाष्य जुन विकास भएको छ, त्यसलाई बदल्नुपर्छ । अब यहीँ गर्न सकिन्छ, हामीले गर्नुपर्छ हाम्रो पुस्ताले गर्नुपर्छ भन्ने भाष्य विकास गर्नुपर्छ । नेपालमा धेरै राजनीतिक, सामाजिक परिवर्तनहरू भए तर जुन विकास निर्माणको नेतृत्व दिनुपर्ने थियो, जुन खालको विकासको आशा जनताले राखेका थिए, त्यो अहिलेसम्म पूरा हुन सकेको छैन । यो वास्तविकता हो ।’
राजनीतिक नेतृत्व र विकास नेतृत्व फरक विषय भएको भन्दै उनले नेपालका नेतृत्वहरूले यस विषयमा त्यति ध्यान दिन नसकेको बताए । उनले भने, ‘राजनीतिक नेतृत्वसँगै विकास नेतृत्व अलि फरक विषय हो । यसलाई हाम्रा नेतृत्वहरूले त्यति ध्यान दिन सकेन कि भन्ने जस्तो लाग्छ । राजनीतिक नेतृत्वसँगै विकासको नेतृत्व र व्यवस्थापनको पनि ज्ञान हुनुपर्छ । राजनीतिक गर्न हाम्रा नेताहरू एकदमै जान्ने हुनुहुन्छ, सफल हुनुहुन्छ, उहाँहरूले धेरै काम पनि गर्नुभएको छ, नगरेको भन्ने होइन । क्षमता छ । त्यो हिसाबमा काम भएको पनि छ । तर देश र जनताले आशा गरेको अनुसार नेपालको विकास हुन सकेन । अबको पुस्ताले अगाडि बढेर नेपाललाई समृद्ध बनाउनुपर्छ भन्ने आजको युवाहरूको आवाज हो ।’
कार्यक्रममा क्याप्टेन विजय लामाले प्रजातन्त्र र गणतन्त्र आएपछि जे पनि बोल्न र गर्न सक्छौ भन्ने सोचले गर्दा जे पनि बोल्ने र अपमान गर्ने प्रवृत्तिको विकास भएको भन्दै यसलाई रोक्नको लागि युवाहरूको खाँचो रहेको बताए ।
उनले भने, ‘सबै मान्छेले भन्छ, हाम्रो देश बनेन भनेर किन बनेको छैन । हाम्रो देश नबनेको भए आज यति धेरै युवाहरू भेला हुँदै हुँदैन्थे । प्रजातन्त्र र गणतन्त्र आएपछि हामीले जे पनि बोल्न सक्छौ भन्ने सोचका साथ अगाडि बढेका छौं तर त्यो सोचमा पनि विकृति आएको छ । बोल्न पायो भन्दैमा जे पनि बोल्ने, अपमान गर्ने प्रवृत्तिको विकास भएको छ । यसलाई रोक्नको लागि पनि युवाहरूको खाँचो छ । बोल्दा के बोल्ने भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।’
आजको शक्ति भनेको युवा वर्ग नै भएको पनि उनको भनाइ छ । ग्लोबल युथ पार्लामेण्टका संयोजक दिवाकर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा युवाहरूलाई प्रशिक्षण दिइएको थियो ।