आइतवार, आश्विन १८ गते २०८३

पार्टी सदस्य भएको ४५ वर्ष भयो, पार्टी सदस्य हुनबाट वञ्चित गर्न मिल्दैन : भण्डारी

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी सदस्यताले लिएको ४५ वर्ष भइसकेको उल्लेख गर्दै सदस्यता नवीकरणबाट रोक लगाउन नमिल्ने बताएकी छिन् ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरणमा रोक लगाउँदै सक्रिय राजनीतिमा आउन नमिल्ने निर्णय गरेको थियो । त्यसपछि पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् । भण्डारीले भनेकी छिन्, ‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको ४५ वर्ष भइसकेको छ । यति हुँदाहुँदै मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन ।’

साथै, उनले आफूलाई रोक्नेगरी एमालेले गरेको निर्णय वैध र परिपक्व हुन नसक्ने बताएकी छिन् । उनले भनिन्, ‘यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ । आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यले अस्थायी रुपमा प्रभावित तुल्याउन सकिए पनि वास्तविकतालाई समेत छोप्न सकिँदैन, छलफल गरिकन विवेकसंगत ढंगबाट निर्णय लिनुपर्छ भन्ने पार्टी र जबजको मर्म पनि यही हो । पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुन सक्दैन ।’

उनले यी सबै कुराहरू भावनामा बगेर नबोलेको पनि पत्रकार सम्मेलनको क्रममा बताइन् । भण्डारीले भनिन्, ‘यो पार्टी बनाउन म लगायत हजारौं योद्धा र सदस्यले रगत पसिना लगाएको छ । यो कुरा म कुनै भावनामा बगेर गरिरहेको छैन ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार