काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐनमा कुलिङ अफ पिरियडको प्रावधानलाई रोक्न एमालेले षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
शनिबार राजधानीमा आयोजित सहिद शिक्षक स्मृति केन्द्रको बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा ऐनबारे संसदमा भएको संशोधन र एमाले सांसदहरूको भूमिकालाई संकेत गर्दै अध्यक्ष दाहालले एमालेको नियतमै समस्या रहेको बताए । उनले भने, ‘संघीय निजामती ऐनमा कुलिङ अफ पिरियडको प्रावधानमा एमालेले म्याउँ गरेरै छाड्यो । उसको नै नियत रहेछ संघीय निजामती ऐनका विरुद्धमा षड्यन्त्र गर्ने ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जिम्मेवारी लिनुपर्ने बताए । दाहालले प्रधानमन्त्री ओलीकै संलग्नतामा ऐनलाई निष्क्रिय तुल्याउने प्रयास भएको दाबी गर्दै छानबिनको दायरामा प्रधानमन्त्री पनि पर्नुपर्ने धारणा राखे ।
‘शंकाको सुई पहिला पनि प्रधानमन्त्री तिरै थियो, तर ठोस रूपमा भन्ने आधार थिएन,’ उनले भने, ‘अहिले एमाले सांसदहरूले गरेको गतिविधिहरू र संशोधनबाट नै यो एमाले र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो । त्यसकारण छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ भनेर हामीले भनेका छौं ।’
अध्यक्ष दाहालले विद्यालय शिक्षा विधेयकमा भएका परिवर्तन र शिक्षक आन्दोलनसँग सम्बन्धित सहमति माओवादी नेतृत्वकै पहलमा सम्भव भएको दाबी गरे । उनले शिक्षकहरूको समस्याको समाधानमा आफ्नो दलको पहल निर्णायक नभए पनि केही हदसम्म राहत पु¥याएको बताए ।
‘हाम्रो नेतृत्वको सरकार नभएको भए शिक्षक आन्दोलनसँग सम्बन्धित पाँच बुँदे सहमति सम्भव हुने थिएन’, उनले दाबी गरे ।