आइतवार, आश्विन १८ गते २०८३

विद्या भण्डारीले अध्यक्षमै आँखा गाडेपछि पार्टीले निर्णय लियो : प्रधानमन्त्री ओली

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष पदमै आँखा गाडेका कारणले पार्टी केन्द्रीय कमिटीले रोक लगाउने निर्णय गर्नुपरेको बताएका छन् ।

बालुवाटारमा कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूसँगको छलफलका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा सक्रिय हुने निर्णय लिनेबारे आफूहरू कल्पना समेत नगरेको छलफलका क्रममा बताएका छन् । प्रधानमन्त्री ओलीले स्पष्ट पार्दै भने, ‘देशकै अविभावक बन्नु पर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँग पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण केन्दीय कमिटीमार्फत पछिल्लो निर्णयमा पुग्नु परेको हो ।’

पूर्वराष्ट्रपति भण्डारी देशकै अभिभावकका रुपमा बस्नुपर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रुपमा रहनुपर्ने व्यक्ति रहेको ओलीको भनाइ थियो । उनले भनेका छन्, ‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारी देखि सिंगो देशकै अविभावकका रुपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनु भएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौं लामो समय जारी राजनीतिक संघर्षको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रुपमा रहनु पर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले स्वयम् उहाँकै कद घटाउने काम गरेको छ ।’

सो क्रममा उनले पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘सिंगो एमाले पार्टी र हामी पार्टीका नेताहरु संघर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधीबेहरी र तुफानको सामाना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं, अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो । सामान्य रुपमा समाधान हुन्छ । तपाईहरु यसमा अल्मलिनु भन्दा आ–आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस् ।’

आफूले पार्टीको नेतृत्व सम्हालेको समयदेखि पार्टीलाई कसरी देश र जनताको पक्षमा उभ्याउने ? कसरी राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने ? भनेर लागेकै कारण पछिल्लो समय पार्टी र पार्टी नेतृत्व चौतर्फी घेराबन्दीमा परेको उल्लेख गर्दै ओलीले एमालेको अबको ध्यान ०८४ मा जनादेश प्राप्त पहिलो शक्ति कसरी बन्ने भन्नेमै हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार