काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको निगरानी बाहिर समानान्तर बजेट वितरण हुने गरेको बताएका छन् ।
मंगलबार माओवादी केन्द्र समाजकल्याण विभागले ललितपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आईएनजीओ र एनजीओका नामबाट निकै ठूलो रकम आउने गरेको उल्लेख गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नेपाल जस्तो गरिब देशमा प्रभाव पार्न र प्रभुत्व विस्तार गर्ने साधनका रुपमा शक्ति राष्ट्रले नेपालमा लगानी गरिरहेको उल्लेख गरेका छन् ।
अध्यक्ष प्रचण्डले भने, ‘आईएनजीओ भनेर अथवा एनजीओका नामबाट निकै ठूलो रकम अनुदानमा विभिन्न विदेशी दातृ संस्थाहरू या राष्ट्रहरूले पनि ठूलो लगानी दिने गरेका छन्, आउने गरेको छ, सरकारमा हुँदा हामीले यसलाई नियमन कसरी गर्न सकिन्छ भन्ने प्रयास गर्यौँ । तर आईएनजीओ, एनजीओबाट जाने रकम चाहीँ सिधै जान्छ । र त्यो समानान्तर बजेट, सरकाको भन्दा ठूलो बजेट जस्तो पनि देखिन्छ ।’ उनले राज्यले यसलाई आफ्नो नियमनभित्र ल्याउनुपर्नेमा जोड दिएका छन् ।
उनले भने, ‘राज्यले यसलाई आफ्नो नियमभित्र, आफ्नो अनुगमन प्रणालीभित्र, आफ्नो लेखाभित्र राख्नुपर्छ भन्ने छलफल हामीले धेरै गर्यौँ, राज्य बेखबर जस्तो, संस्थाहरूले आफ्नो ढंगले पैसा ल्याउने, त्यसको सदुपयोग दुरुपयोग के भइरहेको छ भन्ने कुरालाई राज्यले गम्भीरतापूर्वक हेर्ने भएन भने यो हामीले जनयुद्धमा भनेजस्तै हुनजान्छ ।’ उनले थपे, ‘विदेशका ठूला ठूला शक्ति राष्ट्र र त्यहाँका धनाढ्यहरू, ठूला ठूला पुँजीपतिहरूले तेस्रो विश्वका देशहरूमा, हामी जस्तो गरिब देशहरूमा प्रभाव, प्रभूत्व विभिन्न रुपमा विस्तार गर्ने साधन र हतियार नै हुन पुग्छन्। हामीले हिजो बुझेको गलत बुझिएछ भन्ने होइन। उनीहरूले खोज्ने त त्यस्तै हो।’
उनले शक्ति राष्ट्रहरू वा दातृ निकायले दिने अनुदान विशुद्ध सहयोग हुन नसक्ने र अनुदानमा राजनीतिक उद्देश्य रहेको स्पष्ट पारेका छन् । अध्यक्ष प्रचण्डले भने, ‘ठूल–ठूला शक्ति राष्ट्रहरूको त्यसो गर्नुको पछाडि, त्यसो गर्न दिनुको पछाडि त राजनीति छ, राजनीतिभन्दा बाहिर छ, यो चाहीँ विशुद्ध सेवाभावद्वारा उत्प्रेरित भएर भएको हो भन्ने बुझाई ठिक होइन ।’
उनले थपे, ‘सबैले आफ्नो राजनीतिक उद्देश्य परिपूर्तिको निम्ति, विश्वभर आफ्नो प्रभाव विस्तारको निम्ति, विभिन्न सामाजिक संघ, संस्था निर्माण गर्ने, तिनको प्रयोग गर्ने गर्दै नै आएका छन् ।’