काठमाडौं । राष्ट्रियसभा बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि छलफल चलिरहँदा ३ जना मन्त्रीहरू निदाएका छन् ।
बुधबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिए । प्रधानमन्त्रीसँगै सभाको सत्तापक्षको पहिलो लहरमा मन्त्रीहरू पनि थिए । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई निदाएका हुन् । प्रधानमन्त्री ओली चाखपूर्वक बहस सुनिरहेका थिए ।
जवाफ दिने क्रममा पनि प्रधानमन्त्री ओलीले आफूले बहस पुरै सुनेको र राष्ट्रिय सभाको गरिमा धान्नेगरी बहस भएको भनेर बहसमा भाग लिने सांसदहरूको प्रशंसा गरेका छन् । तर, प्रधानमन्त्रीकै लहरमा रहेका मन्त्रीहरू भने निदाइरहेका थिए ।
प्रधानमन्त्रीकै लहरमा बसेका मन्त्रीहरू निदाएका तस्वीरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।