काठमाडौंं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव रहेको बताएका छन् ।
उनले सङ्खुवासभालाई जलविद्युत्को केन्द्रका रूपमा विकसित गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्ने बताएका छन् । खाँदबारी नगरपालिका–१ मा पावर हाउस सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी २० दिने तालिमको उद्घाटन समारोहमा आज उनले अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथोजस्ता बहुचर्चित आयोजना निर्माणको चरणमा रहेकाले यिनको यसबाट स्थानीय युवाले लाभ लिनुपर्ने बताएका छन् ।
मन्त्री खड्काले आयोजनाको दीर्घकालीन लाभ र सफलताका लागि प्राविधिक सीप हासिल गरेका स्थानीय युवाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने जनाएका छन् । उनले भने, ‘जलविद्युत्को सम्भावनासहितको जिल्लामा सीप विकासमार्फत युवालाई आत्मनिर्भर र आर्थिक रूपले सबल बनाउँदै रोजगारी सृजना गर्नु आजको आवश्यकता हो । सीप विकास रोजगारीको आधार मात्रै होइन, आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि हो ।’
ऊर्जामन्त्री खड्काले खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गर्ने योजना रहेको जनाउँदै स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान, विद्युतीय क्षेत्रका मिस्त्रीजस्ता विभिन्न शाखाका तालिम सञ्चालन गरिने बताएका छन् ।
खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाले तालिमले युवामा आशा, सम्भावना र आत्मनिर्भरताको भावना जागृत गर्ने भएकाले नगरपालिकाले यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।