पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा लामाले आन्तरिक विवादका क्रममा आफूलाई संसदीय दलको नेताका लागि साथ दिने तीन सांसद गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई अब बन्ने इन्द्र बानियाँ नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री नियुक्त गर्ने सुनिश्चित गरेपछि राजीनामाका लागि तयार भएका हुन् ।
पार्टीले लामालाई हटाएर इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउन खोजेपछि विवाद भएको हो । विवादबिच संसदीय दलको नेताका लागि बानियाँ र लामा दुवैले उम्मेदवारी दिएका थिए । तर, लामा पराजित भए पनि संविधानको धारा १६८ (२) अनुसार कुनै दलको स्पष्ट बहुमत नभएको अवस्थामा मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनैपर्ने बाध्यकारी व्यवस्था नभएको भन्दै राजीनामा दिन इन्कार गर्दै आएका थिए । तर दलको नेताको निर्वाचनमा खुलेर आफूलाई साथ दिएका लम्साललाई आन्तरिक मामिला तथा कानुन, गुरुङलाई सहकारी तथा गरिबी निवारण र श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका थिए । यद्यपि सपथ हुन सकेको छैन । लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री इन्द्र बानियाँ हुनेछन् ।