काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताएका छन् ।
मंगलबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । प्रचण्डले भने, ‘पहिलो कुरा देशको लोकतान्त्रिक आन्दोलनको सुदृढिकरण, गणतन्त्रको सुदृढिकरणको निम्ति हाम्रो पार्टी जसले यो परिवर्तनमा सबैभन्दा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्यो, यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अगाडि थियो । त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं ।’
उनले पार्टी एकताबद्ध भएको प्रचण्डले दाबी गरेका छन् । उनले भने, ‘पार्टी एकताबद्ध भएको छ । हामी सामूहिक प्रतिबद्धता गरेका छौं, हामी अझ सुदृढ एकताका साथ सबै खाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं । सामूहिक रुपले प्रतिबद्धता गरेका छौं ।’
मुलुकमा अहिले देखिएका समस्याको अन्त्यका निम्ति फेरि आन्दोलन गर्ने निर्णय पनि भएको बैठकपछि प्रचण्डले जानकारी गराएका छन् ।