काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एआई प्रविधिको भरपुर उपयोग गरिरहेको बताएका छन् ।
शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा भाग लिँदै प्रधानमन्त्री ओलीले आफू एआई मज्जाले चलाइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ, तर, हुर्कदै गर्दा अरु कुरा सिकाउनुपर्छ । म पनि एआईको भरपुर उपयोग गर्छु । च्याटजीपीटीलाई सोध्यो भने सबै भन्दिहाल्छ ।’
तर, कलिला बालबालिकालाई भने मोबाइलबाट जोगाउनुपर्नेमा प्रधामन्त्री ओलीले जोड दिएका छन् । उनले बालबालिकाहरू मोबाइलमा गेम खेल्नेतिर मात्र गएको भन्दै बालबालिकालाई थप अरू सिर्जनात्मक काममा लगाउनु पर्ने बताएका छन् । उनले भने, ‘बालबालिकालाई मोबाइलबाट जोगाउ भन्ने अवस्था आइसक्यो । मोबाइल यस्तो भयो, जे खोजे पनि पाइन्छ, त्यसैले आकर्षणको केन्द्र भयो । यसमा खाली गेमको कुरा हैन अरु पनि छन् । साना उमेरमा बच्चालाई जोगाउनुपर्छ ।’
उनले प्रविधिको प्रयोगमा युवाहरुको आकर्षण बढाउनु पर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘मैले त प्रयोग गरिरहेको हुन्छु भने युवाले झन गर्नुपर्छ । यस्ता राम्रा कुरा बालबालिकालाई सिकाउनुपर्छ ।’ आफू टेक्निकल क्षेत्रको मान्छे नभए पनि आइसिटी र एआई अघि बढाउने सरकार नीति मन्त्रिपिषदबाट पास गरिसकेको बताएका छन् ।
उनले भने, ‘म टेक्निकल क्षत्रको मान्छे हैन, एआईको पनि हैन । तर, कसरी आइसिटी र एआईलाई अघि बढाउने सोचिरहेका छौँ । हिजोमात्र एआईसम्बन्धी निति मन्त्रीपरिषदबाट पास गरेका छौँ । यसमा धेरै काम गर्न आवश्यक छ ।’ संसारमा जुनसुकै प्रविधि आए पनि मानव मष्तिष्कलाई कसैले पनि जित्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले भने, ‘अहिले एआईसँग मान्छे डराएको देख्छु । तर, मानव मस्तिष्कलाई कसैले च्यालेन्ज गर्न सक्दैन । यो सृष्टिलाई जित्न सक्दैन ।’