शनिवार, आश्विन १७ गते २०८३

बागमती प्रदेश : ५ मन्त्री नियुक्त, बहादुरले सिफारिस गरेका ३ जना परेनन्

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौँ । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नियुक्त गरेका ५ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका हुन् ।

साउन २० गते मुख्यमन्त्री बनेका बनेका बानियाँले साउन २७ गते विश्वासको मत लिइसकेका छन् । बानियाँले आफ्नै दल कांग्रेसका ५ जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिए ।

सामाजिक विकास मन्त्रालयमा काभ्रेका बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी रायमाझीले जिम्मेवारी पाएका छन ।

एमालेबाट ६ मन्त्री यसअघि नै नियुक्त भइसकेका थिए । बहादुर सिंह लामाले सिफारिस गरेका ३ मन्त्रीलाई भने बानियाँले सूचीमा राखेका छैनन् ।

यसअघि २० साउनमा कांग्रेसबाट खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र जिम्मेवारी पछि तोकिने गरि धादिङका शिवराज अधिकारी विना विभागीय मन्त्री नियुक्त भएका थिए ।

यस्तै एमालेका मधुसुदन पौडेललाई कृषि तथा पशुपन्छी विकास,डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, भरत केसीलाई वन तथा वातावरण, जयराथ थापालाई श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार