काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् ।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन मिश्री नेपाल आएका हुन् ।
ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ । तर, भ्रमणको औपचारिक मिति भने अझै तय भइसकेको छैन् । विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् ।
मिश्रीको भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेश सचिव मिश्रीको राष्ट्रपति, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी सोमबार स्वदेश फर्किनेछन् ।