काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खहरेको बाढीजस्तै भएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पाको आयोजनामा आइतबार तानसेन गरेको पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको राजनीति बर्खामा आउने खहरेको बाढी भएको बताएका छन् । अर्थमन्त्री पौडेलले भने, ‘एउटा बर्खा नसकिदै खहरेको बाढी सुक्छ, कमिला हिड्न थाल्छ ।’ रास्वपा पनि अब हराउँदै जाने दाबी गर्दै उनले विरोधमा रमाएर राजनीति नगर्न सुझाव दिएका छन् ।
उनले एमाले र कांग्रेस देश र जनताको हितलाई काम गर्ने पार्टी भएको बताएका छन् । सरकार ढल्छ भनेर सपना नदेख्न भन्दै पौडेलले सरकार सहमति अनुसार नै अगाडि बढेको बताएका छन् । उनले भने, ‘मुलुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं, यही सरकारले मुलुकको भविष्य बनाउछ । अहिलेको सरकार ढल्नेवाला छैन ।’
अस्थिरताको खोजी गर्ने दिन गएको भन्दै अब नेकपा माओवादी केन्द्रले मुलुकलाई अस्थिरतामा लैजानबाट रोकिएको उल्लेख गरेका छन् । दृष्टिकोण, एजेन्डा र गन्तब्य नभएका पार्टीले अस्थिरता निम्त्याउन खोजिरहेको समेत अर्थमन्त्री पौडेलले दाबी गरेका छन् ।