शनिवार, आश्विन १७ गते २०८३

दुर्गा प्रसाईं भन्छन्– म कुनै ठग होइन, म अकबरे सुन हुँ

सोमवार , भाद्र २, २०८२

काठमाडौं । आफूमाथि लागेका सबै आरोपहरूलाई खण्डन गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई ‘अकबरे सुन’ सँग तुलना गरेका छन् ।

उनले आफू कुनै ठग नभएको र जस्तोसुकै परीक्षणमा पनि खरो उत्रिने दाबी गर्दै आफ्ना आलोचकहरूलाई चुनौती दिएका छन् । गत चैत १५ को तीनकुने घटना र त्यसपछिको जेल जीवनपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै प्रसाईंले भने, ‘म कुनै ठग होइन, म अकबरे सुन हुँ । अकबरे सुनलाई जहाँ लगेर घोट्दा पनि पहेँलै आउँछ ।’ उनले आफूमाथि कुनै केटी काण्ड वा अन्य कुनै अभियोग लगाउन सक्ने ठाउँ नरहेको जिकिर गरेका छन् ।

उनले भने, ‘तपाईंहरूको अगाडि अकबरे सुन छ, अब तपाईंहरू घोटेर पानी खानुहोस्, कानमा लाउनुहोस्, मलाई सदुपयोग गर्नुहोस् ।’ उनले आफूलाई अभियानबाट पछि हटाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागेको दाबी गरेका छन् । उनले दिल्लीमा केही मारवाडी र तस्करहरूले ‘तेरो सबै ऋण तिरिदिन्छौं, अभियान छोड्’ भन्दै आफूलाई किन्न खोजेको तर आफू नबिकेको खुलासा गरेका छन् । प्रसाईंले भने, ‘मलाई किन्ने कोसिस गरियो, तर म नमानेको मान्छे हुँ र अहिले पनि मान्दिनँ, मलाई नेपाल चाहिएको छ, नेपाली नागरिक चाहिएको छ ।’

आफूले ७८ दिन हिरासत र त्यसपछि जेल जीवन बिताउँदा कुनै पश्चाताप नभएको बरु छाती फुलेको बताएका छन् । उनले भने, ‘मेरो छोरो हरेक दिन मलाई भेट्न आउँथ्यो, मैले के खोजेको थिएँ भने, मेरो छोरो जसरी मलाई भेट्न आउँछ, त्यसरी नै अरूका छोराछोरी पनि (विदेशबाट) आउन् ।’ उनले अब आफ्नो अभियानलाई राजनीतिक दलमार्फत अगाडि बढाउने घोषणा गरेका छन् ।

उनले भने, ‘अब मैले तपाईंहरूको सल्लाहअनुसार र आम नागरिकको इच्छाअनुसार राजनीतिक दल खोलेर अघि बढ्ने निश्चय गरेको छु, केही समयभित्रै दलको नाम घोषणा गर्छु ।’ उनले आफ्नो अभियानले एउटा अध्याय पार गरेको र अब नयाँ अध्याय सुरु भएको बताएका छन् ।

प्रसाईंले भने, ‘अबको क्रान्ति आर्थिक क्रान्ति हो, संविधानले तपाईंलाई खान–लाउन दिँदैन । गरिबको घर–जग्गा फिर्ता हुनुपर्छ, त्यो संविधान खोजेको हामीले ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार