शनिवार, आश्विन १७ गते २०८३

पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालयको आज उद्घाटन

बिहिवार , भाद्र ५, २०८२

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालयको आज उद्घाटन हुँदैछ। नयाँ बानेश्वर नजिकै रहेकाे थापा गाउँमा भण्डारीको सम्पर्क कार्यालय उद्घाटन गर्न लागिएको हो। 

‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट उक्त भवनको उद्घाटन गर्ने तयारी छ। ‘मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’का संयोजक डोरमणि पौडेलले दिउँसो २ बजे कार्यालयको उद्घाटन हुने  जानकारी दिए। 

उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने तय भएको छ। नेता पोखरेल पछिल्लो समय भण्डारीको पक्षमा खुलेका छन्। 

पार्टी राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको संगठन र जनताको बहुदलीय जनवाद (जबज) को विस्तार गर्न भन्दै आफ्नै संरक्षकत्वमा बेग्लै संयन्त्रको अभ्यास सुरू गरेकी हुन्।

उक्त संयन्त्रका लागि पूर्वराष्ट्रपति भण्डारीले आफ्ना पति एवम् नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीले २०४८ सालमा चुनावी कार्यक्रमका लागि सम्पर्क कार्यालय खोलेको घरलाई नै सम्पर्क कार्यालयका रुपमा रोजेकी छन्।

बानेश्वरस्थित थापागाउँको लाखेचौर मार्गमा भाडामा लिइएको ४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयको रुपमा उद्घाटन गर्न लागिएको हो। 

छोरी उषाकिरण भण्डारी अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको हीरक जन्म जयन्ती मनाउन भन्दै डोरमणि पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति घोषणा गरिएको छ। यसअघि बागमती प्रदेशको मुख्यमन्त्री भएका पौडेल भण्डारीका प्रियपात्र मानिन्छन्।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार